नक्कली सर्टिफिकेटले चारपटक बढुवा खाएका प्रमुख अनुसन्धान अधिकृतमाथि भ्रष्टाचार मुद्दा

१८ कार्तिक २०८३, बुधबार १४:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी पदमा बढुवा भएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले बुधबार भट्टराईले सेवा प्रवेशदेखि विभिन्न पदमा बढुवा हुँदासम्म पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

अख्तियारका अनुसार भट्टराईले भारतको पटनास्थित बिहार इन्टरमिडिएट एजुकेशन काउन्सिलबाट प्राप्त भएको भनिएको प्रविणता प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्र २०५५ वैशाख ८ गते राष्ट्रिय अनुसन्धान विभागमा पेस गरेका थिए। उक्त प्रमाणपत्रकै आधारमा उनले विभिन्न समयमा बढुवा पाउँदा शैक्षिक योग्यताबापतको अङ्कसमेत प्राप्त गरेको आयोगको अनुसन्धानबाट खुलेको छ।

भट्टराई २०५६ जेठ १० गते सहायक निरीक्षक पदमा नियुक्त भएका थिए। त्यसपछि २०६४ असार ३२ गते वरिष्ठ अनुसन्धान सहायक, २०७१ माघ ५ गते अनुसन्धान अधिकृत र २०७५ फागुन १३ गते प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भएका थिए।

आयोगले प्रमाणपत्र जारी गर्ने निकायबाट प्राप्त प्रमाणीकरण विवरणमा भट्टराईको नाम र कुल प्राप्ताङ्क सम्बन्धित अभिलेखसँग नमिलेको पाइएको जनाएको छ। यसका आधारमा उनले झुटा शैक्षिक प्रमाणपत्र पेस गरी सेवा प्रवेश तथा बढुवाको लाभ लिएको पाइएपछि अख्तियारले मुद्दा चलाएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*