शेयर बजारमा झिनो सुधारः कारोबार साढे ७ अर्ब, प्रवेश गर्ने सहि मौका हो ?

काठमाडौँ । पछिल्लो समय शेयर बजारमा उतारचढाव जारी छ । अघिल्लो दिन झिनो अंकले बढेको बजार आज आज पनि सोहि निरन्तरता पाएको हो । तिहार र छठजस्ता ठूला पर्व नजिकिँदै गर्दा बजारमा देखिएको अस्थिरताले लगानीकर्ताको मनोबलमा थप दबाब सिर्जना गरेको छ । बजारको आगामी दिशाबारे अन्योल कायमै रहँदा केही लगानीकर्ताले भने पछिल्लो गिरावटलाई बजार प्रवेशको अवसरका रूपमा हेर्न थालेका छन् । उनीहरूका अनुसार बजारमा केही करेक्सन आइसकेकाले अहिले लगानी गर्ने उपयुक्त समय हुन सक्छ ।
बजारमा खरिद चाप कमजोर हुनुको अर्को कारण बैंक तथा वित्तीय संस्थाहरूको पछिल्लो वित्तीय अवस्थालाई पनि मानिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक भइरहँदा अधिकांश संस्थाको नतिजा लगानीकर्ताको अपेक्षाअनुसार देखिएको छैन । विशेषगरी आकर्षक लाभांशको आशामा शेयर खरिद गरेका लगानीकर्ताले अपेक्षित प्रतिफलको संकेत नपाउँदा नयाँ लगानीप्रति उत्साह घटेको विश्लेषण गरिएको छ । वित्तीय नतिजा र सम्भावित लाभांशप्रति देखिएको निराशाले बजारमा तत्काल ठूलो खरिद चाप सिर्जना हुन नसकेको जानकारहरूको बुझाइ छ ।
यद्यपि, शेयर बजारलाई गति दिन सक्ने केही सकारात्मक आधार भने तयार हुँदै गएका छन् । नियामक निकायबाट बजार सुधार र विस्तारसँग सम्बन्धित नीतिगत पहल भइरहेका छन् भने बैंक तथा वित्तीय संस्थाको ब्याजदर पनि न्यून विन्दुमा छ । त्यसमाथि अधिकांश बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जाको सीमा विस्तार गरेका छन् । सस्तो ब्याजदरमा कर्जा पाउने सम्भावना र नीतिगत सहजताले आगामी दिनमा बजारमा लगानीको वातावरण थप अनुकूल बनाउन सक्ने देखिन्छ । यी पक्षले बजारमा नयाँ लगानी भित्रिने सम्भावनासमेत बढाएका छन् ।
तर, सकारात्मक वित्तीय तथा नीतिगत अवस्थाका बाबजुद लगानीकर्ताको विश्वास भने बलियो बन्न सकेको छैन । पछिल्लो समय सरकारले गरिरहेको धरपकड र शेयर बजारमा लगानी भएको रकमको स्रोतसमेत खोजिन थालेपछि विशेषगरी ठूला लगानीकर्ता थप सतर्क बनेको बजारका जानकारहरूको विश्लेषण छ । लगानीको स्रोतबारे स्पष्टता नहुँदा ठूलो पूँजी परिचालन गर्न लगानीकर्ताहरू हिचकिचाइरहेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज – नेप्से) १.४० अंकले बढेर २६६५ बिन्दुमा कायम भएको छ। आज ३५८ कम्पनीको २ करोड १२ लाख २३ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४३ करोड ९३ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन ९ उपसूचक घटेका छन् भने ४ उपसूचकमा सुधार देखिएको हो । आज जीवन बीमा समूह र अन्य समूहको शेयर मूल्य सर्वाधिक बढेको हो ।

बुधबार ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १७१ कम्पनीको घटेको छ । ९ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।











