खुट्टा भाँचिएर अस्पताल भर्ना भएका दाहाललाई बीमाबाट उपचार खर्च, घरमै पुग्यो सन नेपाल लाइफ

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ‘सन मेडिकेयर’ अन्तर्गतको ‘आपतमा राहत’ राइडरमार्फत बीमितलाई उपचार खर्चको दाबी भुक्तानी गरेको छ। कम्पनीको बनेपा शाखाले आकस्मिक दुर्घटनामा घाइते भएका बीमित मन्दिस दाहालको निवासमै पुगेर दाबी भुक्तानी प्रक्रिया पूरा गरेको हो।
बनेपा नगरपालिका–६, बुडोलस्थित दाहालको निवासमै पुगेर कम्पनीका प्रतिनिधिले डिस्चार्ज भौचरमा हस्ताक्षर गराएका थिए। आवश्यक कागजात पूरा भएकै दिन अर्थात् मंगलबार दाबीबापतको रकम उनको बैंक खातामा जम्मा हुने कम्पनीले जनाएको छ।
सडकमा हिँड्ने क्रममा लडेर खुट्टा भाँचिएपछि दाहाल बनेपास्थित शिर मेमोरियल अस्पतालमा नौ दिनसम्म उपचाररत थिए। उपचारका क्रममा लागेको खर्च बीमाबाट प्राप्त हुने भएपछि आफूलाई ठूलो राहत मिलेको उनले बताए। उपचार खर्च दाबीबाट प्राप्त हुने भएपछि खर्च कटाएर केही रकम बचतसमेत हुने भन्दै उनले खुसी व्यक्त गरे।
बीमा गर्दा सामान्य रकम तिरेर आपतमा राहत राइडर लिएको उल्लेख गर्दै दाहालले यति सहज रूपमा उपचार खर्च प्राप्त होला भन्ने आफूले नसोचेको बताए। “बीमा गर्दा १२–१३ सय रुपैयाँजति तिरेर यो राइडर लिएको थिएँ। यति सजिलै यति ठूलो उपचार खर्च आउँछ भन्ने लागेको थिएन,” उनले भने।
दाबी भुक्तानी कार्यक्रममा कम्पनीका तर्फबाट क्षेत्रीय प्रबन्धक मुरारीप्रसाद तिवारी र सीईई चाँदनी थापा दाहालको निवास पुगेका थिए। कार्यक्रमको समन्वय कम्पनीका वरिष्ठ एजेन्सी म्यानेजर निश्चल अधिकारीले गरेका थिए।
सन नेपाल लाइफको सन मेडिकेयर अन्तर्गतको आपतमा राहत राइडरले सामान्य शुल्कमा आकस्मिक अवस्थाका १५ प्रकारका रोग तथा दुर्घटनामा अधिकतम एक लाख रुपैयाँसम्म उपचार खर्चको सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ। यद्यपि यस्तो सुविधा राइडरमा तोकिएका सर्त तथा सीमाअनुसार उपलब्ध हुने स्पष्ट पारेको छ।
दाबी भुक्तानीका क्रममा क्षेत्रीय प्रबन्धक तिवारीले बीमा भविष्यका लागि रकम जम्मा गर्ने माध्यम मात्र नभई अप्ठ्यारो र आपत्कालीन अवस्थामा आर्थिक सुरक्षा प्रदान गर्ने आधारसमेत भएको बताए। सानो प्रिमियमले भविष्यमा आइपर्न सक्ने ठूलो आर्थिक भार कम गर्न सहयोग गर्ने उल्लेख गर्दै उनले आफ्नो र परिवारको स्वास्थ्य तथा आर्थिक सुरक्षाका लागि बीमा योजनाबारे जानकारी लिन आग्रह गरे।











