धितोपत्र बजारमा साइबर सुरक्षा र प्रविधिको प्रयोग व्यवस्थित गर्न नयाँ नीति लागू

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजी बजारमा सूचना प्रविधिको सुरक्षित र व्यवस्थित प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘नेपाल धितोपत्र बोर्ड सूचना प्रविधि नीति, २०८३’ लागू गरेको छ। बोर्डले आज कात्तिक १८ गतेदेखि नयाँ नीति कार्यान्वयनमा ल्याएको हो।
बोर्डका अनुसार नयाँ नीतिले धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा प्रविधिको प्रयोगलाई सुरक्षित, पारदर्शी र भरपर्दो बनाउने लक्ष्य राखेको छ। साथै साइबर जोखिम घटाउने, नियमनलाई प्रभावकारी बनाउने र लगानीकर्ताको विश्वास बढाउने उद्देश्य लिएको बोर्डले जनाएको छ।
नीतिमा धितोपत्र बजारसँग सम्बन्धित संस्थाहरूलाई उनीहरूको काम र जिम्मेवारीअनुसार तीन तहमा वर्गीकरण गरी सूचना प्रविधि सुरक्षाका मापदण्ड लागू गर्ने व्यवस्था गरिएको छ। बजार सञ्चालन तथा निक्षेपसम्बन्धी संस्थादेखि धितोपत्र दलाल, मर्चेन्ट बैंकर र शेयर रजिस्ट्रारसम्मका संस्थाले तोकिएका सुरक्षा मापदण्ड पालना गर्नुपर्नेछ।
त्यस्तै बजारका महत्त्वपूर्ण प्रणालीमा समस्या वा विपद् आए पनि सेवा निरन्तर सञ्चालन गर्न व्यवसाय निरन्तरता योजना र विपद् पुनःप्राप्ति योजना बनाउनुपर्ने व्यवस्था गरिएको छ। यस्ता योजनाको वर्षमा कम्तीमा एकपटक परीक्षण गरी त्यसको प्रतिवेदन बोर्डमा बुझाउनुपर्नेछ।
बजार पूर्वाधार संस्थाहरूले चौबीसै घण्टा साइबर जोखिमको निगरानी गर्न सुरक्षा सञ्चालन केन्द्र स्थापना गर्नुपर्ने वा मान्यता प्राप्त सुरक्षा सेवा प्रदायकमार्फत यस्तो व्यवस्था मिलाउनुपर्नेछ। प्रविधिसम्बन्धी सेवा खरिद गर्दा सेवा प्रदायकको विश्वसनीयता र जोखिमसमेत मूल्याङ्कन गर्नुपर्ने व्यवस्था नीतिमा समेटिएको छ।











