राष्ट्रपति ट्रम्पको युद्ध अस्वीकार गर्ने जनमत संग्रह बन्यो अमेरिकी निर्वाचन, शान्तिको पक्षमा जनमत

१८ कार्तिक २०८३, बुधबार १५:१५

वासिङ्टन डीसी । अमेरिकामा हिजो (मंगलबार) सम्पन्न भएको मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको सत्तारुढ रिपब्लिकन पार्टीले निकै ठूलो पराजय ब्यहोरेको छ । अमेरिकाको इतिहासमा यसलाई राष्ट्रपति ट्रम्पको युद्ध अस्वीकार गर्ने जनमतमा रुपान्तरण भएको रुपमा व्याख्या र विश्लेषण भइरहेको छ ।

शान्ति, सहकार्यको पक्षमा रहेको डेमोक्रेटिक पार्टीले संसद्का दुवै सदन-हाउस अफ रिप्रेजेन्टेटिभ्स (प्रतिनिधिसभा) र सिनेट-मा पूर्ण बहुमत हासिल गर्दै ऐतिहासिक जित दर्ता गरेको छ । यो नतिजालाई राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा अपनाइएको युद्ध नीति अमेरिकी जनताले अस्वीकृत गरेको रुपमा हेरिएको छ । विभिन्न अमेरिकी सञ्चार माध्यमहरुले यो निर्वाचनलाई जनमत संग्रहको रुपमा चर्चा गर्दै राष्ट्रपति ट्रम्पको हुकुमी शासनमाथि जनताले चेक एण्ड ब्यालेन्स चाहेको रुपमा समेत अथ्र्याएका छन् ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार डेमोक्रेटिक पार्टीले अमेरिकी संसद्को तल्लो सदन प्रतिनिधिसभामा बहुमतका लागि आवश्यक २१८ सिटको संख्यालाई निकै पछाडि छाड्दै कम्तीमा २५८ सिटमा विजय हासिल गर्ने प्रक्षेपण गरिएको छ । यो समाचार तयार गर्दासम्म २१८ सिट आवश्यक पर्नेमा २२५ सिटमा जित हासिल गरिकसको छ । यसैगरी, माथिल्लो सदन सिनेटमा पनि डेमोक्र्याटहरूले रिपब्लिकनका कैयौँ बलिया गढहरू भत्काउँदै बहुमत सुरक्षित गरेका छन् । डेमोक्र्याटहरूले टेक्सास, ओहायो, कान्सास, मेन, उत्तर क्यारोलिना, दक्षिण क्यारोलिना र आयोवा जस्ता परम्परागत रूपमा रिपब्लिकन बाहुल्य रहेका सातवटा सिनेट सिटहरू आफ्नो पक्षमा पारेका छन् ।

यस निर्वाचनमा मेन राज्यमा पाँच पटकसम्म सिनेटर रहेकी प्रभावशाली रिपब्लिकन नेता सुसन कोलिन्सलाई डेमोक्रेटिक उम्मेदवार ट्रोइ ज्याक्सनले पराजित गर्दै ठूलो उलटफेर गरेका छन् । त्यसैगरी, टेक्सास राज्यमा विगत ३२ वर्षदेखिको रिपब्लिकनहरुको एकाधिकार तोड्दै डेमोक्रेटिक पार्टीका जेम्स टालारिकोले सिनेटमा सानदार जित हासिल गरेका छन् ।
त्यस्तै, मिशिगनबाट डेमोक्र्याट अब्दुल एल–सइद विजयी बन्दै अमेरिकी सिनेटमा पुग्ने पहिलो मुस्लिम सिनेटर बनेका छन् । कान्सास जस्तो परम्परागत रातो राज्यमा डेमोक्र्याटले झन्डै सय वर्षपछि ऐतिहासिक जित निकालेका छन् ।

संसदीय निर्वाचनका साथै विभिन्न राज्यका गभर्नर पदमा पनि रिपब्लिकन पार्टीले नराम्रो धक्का खाएको छ । टेक्सास, जर्जिया, ओहायो र आयोवामा गभर्नरका पदहरू डेमोक्र्याटले खोसेका छन् । टेक्सासमा गिना हिनोजोसाले चौथो कार्यकालका लागि प्रतिस्पर्धामा रहेका बहालवाला गभर्नर ग्रेग एबोटलाई पराजित गरेकी छन् भने जर्जियामा कीशा लान्स बटम्सले ऐतिहासिक जित दर्ता गरेकी छन् ।
एक्जिट पोलहरूका अनुसार अमेरिकी मतदाताहरूमाझ वर्तमान आर्थिक अवस्था, महँगी, इन्धनको बढ्दो मूल्य र इरानसँगको युद्धप्रतिको असन्तुष्टि नै रिपब्लिकन पार्टीको हारको मुख्य कारण रहेको भन्दै चर्चा भइरहेको छ । राष्ट्रपति ट्रम्पको कार्यसम्पादनप्रति ६२ प्रतिशतभन्दा बढी मतदाताले असन्तुष्टि व्यक्त गरेका थिए भने आधाभन्दा बढीले यो निर्वाचनलाई ट्रम्प प्रशासनविरुद्ध आक्रोश पोख्ने अवसरका रूपमा प्रयोग गरेको अभिव्यक्ति दिएका छन् ।

निर्वाचनको परिणाम स्पष्ट भएपछि राष्ट्रपति ट्रम्पले आफू नतिजा स्वीकार गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन् । न्यूयोर्क टाइम्ससँग कुरा गर्दै उनले आगामी दिनमा डेमोक्र्याटहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए । उसो त निर्वाचनमा लज्जास्पद हार व्यहोर्ने अवस्था देखेपछि निर्वाचनको अघिल्लो दिन इजरायलाई दिने भनेको चार बिलियन डलर आर्थिक सहयोग अब अन्त्य गर्ने घोषणा गरेका थिए । राष्ट्रपति ट्रम्पले इन्धनको उच्च मूल्य र इरान युद्धका कारण पार्टीलाई क्षति पुगेको कुरा स्वीकार गरेका छन् ।

यो नतिजासँगै अमेरिकी राजनीतिमा नयाँ समीकरण बनेको छ । संसद्का दुवै सदनमा डेमोक्र्याटको नियन्त्रण भएसँगै राष्ट्रपति ट्रम्पको बाँकी दुई वर्षे कार्यकालका नीति, बजेट र नियुक्तिहरूमा पूर्ण अंकुश लाग्ने छ । यद्यपि परराष्ट्र नीति, सैनिक प्रमुख तथा कार्यकारी भएकोले उनले चाहेको खण्डमा युद्ध भने जारी राख्न सक्नेछन् ।

अमेरिकी जनताले रिपब्लिकनलाई नराम्रोसँग पराजित गरेपछि जनताले युद्धलाई अस्वीकृत गरेको र शान्तिको स्वागत गर्न चाहेको रुपमा हेरिएको छ ।

तस्विरः सरह यानेसेल/इपिए/अलजजिरा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*