घाटाबाट नाफामा फर्कियो शिखर इन्स्योरेन्स, पहिलो त्रैमासमै ४ करोड ११ लाख कमाइ

३० कार्तिक २०८३, सोमबार ०७:१४

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटाबाट नाफामा फर्किएको छ। कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार यस अवधिमा ४ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी १५ करोड ८५ लाख रुपैयाँ घाटामा थियो।

गत वर्ष ठूलो रकम घाटा व्यहोरेको कम्पनीले एक वर्षको अवधिमै वित्तीय अवस्थामा सुधार गर्दै नाफा कमाउन सफल भएको हो। नाफामा सुधार आएसँगै कम्पनीको कुल आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५३ करोड ९० लाख रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा १७.३३ प्रतिशतले वृद्धि गर्दै ६३ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ।

कम्पनीको बीमाशुल्क संकलनमा पनि सुधार देखिएको छ। गत वर्षको पहिलो त्रैमासमा २९ करोड ७ लाख रुपैयाँ रहेको खुद बीमाशुल्क आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा १३.७९ प्रतिशतले बढेर ३३ करोड ८ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको कुल सम्पत्तिमा समेत उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षको असोज मसान्तमा १७ अर्ब १७ करोड ६४ लाख रुपैयाँ रहेको कुल सम्पत्ति चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर २० अर्ब ५३ करोड ५४ लाख रुपैयाँ पुगेको छ। हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब १० करोड १५ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १९२ रुपैयाँ ७४ पैसा र प्रतिशेयर आम्दानी ५ रुपैयाँ ३० पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ।

व्यवसाय विस्तारका हिसाबले पनि कम्पनीले प्रगति गरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ७९ हजार ४४० वटा बीमालेख जारी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा १ लाख २ हजार ३१२ वटा बीमालेख जारी गरेको छ। यसअनुसार एक वर्षको अवधिमा कम्पनीले २२ हजार ८७२ वटा थप बीमालेख जारी गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*