बैंकिङ्ग क्षेत्रबाट सबैभन्दा बढी आयकर बुझाउने नबिल बैंक सम्मानित

१ मंसिर २०८३, मंगलवार १२:०५

काठमाडौं । नबिल बैंक लिमिटेड बैंकिङ्ग क्षेत्रमा कारोबार गर्ने संस्थाहरूमध्ये राज्यलाई सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्थाका रूपमा सम्मानित भएको छ। राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आज सरकारले नबिल बैंकलाई उत्कृष्ट करदाताको सम्मान प्रदान गरेको हो।

मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीलाई सम्मानपत्र प्रदान गरेका हुन्।

सरकारले बैंकिङ्ग क्षेत्रतर्फ सबैभन्दा बढी कर दाखिला गरेको योगदानको कदर गर्दै नबिल बैंकलाई सम्मान गरेको हो। राष्ट्रिय कर दिवसका अवसरमा विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गर्ने क्रममा नबिल बैंक बैंकिङ क्षेत्रबाट छनोट भएको हो।

प्रचलित आयकर ऐनअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो करयोग्य आयमा ३० प्रतिशत आयकर तिर्नुपर्ने व्यवस्था छ। सोही कानुनी व्यवस्थाअनुसार कर दायित्व पूरा गर्दै राज्यको राजस्वमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै बैंकलाई सम्मान गरिएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*