तीन जिल्लाबाट देशभर फैलिएको गरिमाको २० वर्षे गौरवशाली यात्रा, राष्ट्रियस्तरमा बलियो उपस्थिति

७ मंसिर २०८३, सोमबार १५:३५

काठमाडौँ । गरिमा विकास बैंकले स्थापनाको २०औँ वर्ष पूरा गरेको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवका अवसरमा बैंकले रक्तदान कार्यक्रमलगायत विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रम सञ्चालन गरेको हो । दुई दशकको यात्रालाई उपलब्धि, अनुभव र विश्वासको संगमका रूपमा लिएको बैंकले ग्राहक, शेयरधनी, नियामक निकाय, कर्मचारी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।

बैंकले स्थापनाकालदेखि हालसम्म निरन्तर विश्वास, साथ, सहयोग र सद्भाव प्रदान गर्दै प्रगतिको सहयात्री बन्नुभएका सम्पूर्ण ग्राहकवर्ग, शेयरधनी, नियामक निकाय, कर्मचारी तथा शुभेच्छुकप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ। ग्राहक तथा सरोकारवालाको अटुट विश्वास र सहकार्य नै आफ्नो सफलताको मुख्य आधार रहेको उल्लेख गर्दै बैंकले आगामी दिनमा अझ गुणस्तरीय, आधुनिक र विश्वसनीय बैंकिङ सेवा प्रदान गरी उक्त विश्वासलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

स्याङ्जाको वालिङमा प्रधान कार्यालय राखेर राष्ट्रियस्तरको विकास बैंकका रूपमा स्थापित गरिमा विकास बैंकले २०६४ साल कात्तिक १८ गतेदेखि बैंकिङ कारोबार सुरु गरेको थियो। बैंकको औपचारिक उद्घाटन भने २०६४ साल मंसिर ७ गते भएको थियो। सुरुवाती चरणमा दुई करोड ६५ लाख रुपैयाँ चुक्ता पुँजीसहित कारोबार थालेको बैंकले क्षेत्रीयस्तरको विकास बैंकका रूपमा स्याङ्जा, पाल्पा र कास्की गरी तीन जिल्लामा सेवा विस्तार गरेको थियो। २०६८ साल चैत २० गते बैंकले आफ्नो कार्यक्षेत्र विस्तार गरी १० जिल्लामा पुर्‍याएको थियो।

‘सबैका लागि वित्तीय पहुँच’ भन्ने मूल ध्येयलाई आत्मसात् गर्दै अघि बढेको बैंकले सीमित कार्यक्षेत्र र सेवा विस्तारका चुनौतीलाई चिर्दै राष्ट्रियस्तरको विकास बैंकमा रूपान्तरण हुने रणनीति अपनाएको थियो। यस क्रममा २०७२ साल असार २९ गते तत्कालीन निलगिरि विकास बैंक र २०७३ साल असोज ४ गते तत्कालीन शुभेच्छा विकास बैंकलाई गाभेर आफ्नो पुँजीगत आधार, शाखा सञ्जाल तथा संस्थागत क्षमता थप मजबुत बनाएको थियो। त्यसैगरी, २०७८ साल कात्तिक २८ गते सहारा विकास बैंकलाई प्राप्ति गरेपछि मधेस प्रदेशमा समेत आफ्नो उपस्थिति थप विस्तार गरेको थियो। विभिन्न वित्तीय संस्थासँगको एकीकरण र प्राप्तिपछि बैंकले आफ्नो सेवा क्षेत्र फराकिलो बनाउँदै ठूलो ग्राहक वर्गलाई सहज, सुलभ र भरपर्दो बैंकिङ सेवा प्रदान गर्न सफल भएको छ।

हाल बैंकको प्रधान कार्यालय काठमाडौं महानगरपालिका–३, बालुवाटारमा रहेको छ। देशभर रणनीतिक रूपमा विस्तार गरिएका १२६ शाखा र ५१ एटीएममार्फत बैंकले ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ। बैंकले सबै वर्ग र समुदायका नागरिकलाई बैंकिङ सेवामा समान पहुँच पुर्‍याउने लक्ष्यसहित आफ्नो सेवा विस्तारलाई प्राथमिकतामा राखेको छ।

राष्ट्रको आर्थिक विकासमा योगदान पुर्‍याउने, ग्राहकलाई वित्तीय पहुँचसँगै गुणस्तरीय वित्तीय उत्पादन तथा सेवा उपलब्ध गराउने, शेयरधनीको सम्पत्तिको मूल्य अभिवृद्धि गर्ने, कर्मचारीलाई उत्कृष्ट व्यावसायिक तथा व्यक्तिगत विकासका अवसर प्रदान गर्ने र अन्य सरोकारवालाको अपेक्षा पूरा गर्ने उद्देश्य बैंकले अघि सारेको छ। इमानदारी, सामूहिक कार्य, ग्राहककेन्द्रित सेवा, व्यावसायिकता र समुदायप्रतिको उत्तरदायित्वलाई बैंकले आफ्ना प्रमुख मूल्यका रूपमा आत्मसात् गरेको छ।

२०औँ वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष दिलीपप्रताप खाँण तथा प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले सम्पूर्ण ग्राहकवर्ग, शेयरधनी, कर्मचारी र शुभेच्छुकमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। दुई दशकको यात्रामा प्राप्त उपलब्धि सबैको साथ र विश्वासको प्रतिफल भएको उल्लेख गर्दै उनीहरूले आगामी दिनमा पनि सेवाको गुणस्तर, प्रविधिको प्रयोग र संस्थागत विश्वसनीयतालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*