९ हजार ५०० घुस लिँदा भन्सारका अधिकृत र सहयोगी अख्तियारको फन्दामा

काठमाडौं । सेवाग्राहीसँग ९ हजार ५०० रुपैयाँ घुस लिएको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयअन्तर्गत वैदेशिक हुलाक शाखा, डिल्लीबजारमा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
कुरियर कम्पनीमार्फत विदेशमा विभिन्न सामान पठाउने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचना तथा उजुरीका आधारमा अख्तियारको टोलीले दुवै जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको हो । अनुसन्धानका क्रममा उनीहरूले आफ्नो पद तथा ओहदाको दुरुपयोग गर्दै आपसी मिलेमतो र पूर्वयोजनाअनुसार सेवाग्राहीको सामान वैदेशिक हुलाक शाखामार्फत विदेश पठाउन विभिन्न बहाना बनाई रकमको बार्गेनिङ गरेको खुलेको अख्तियारले जनाएको छ।
आयोगका अनुसार सामान विदेश पठाउने प्रक्रियामा अनावश्यक बहाना बनाएर सेवाग्राहीसँग घुस माग्ने र लिन सहमत भएपछि दुवै जनाले योजनाबमोजिम ९ हजार ५०० रुपैयाँ लिएको पुष्टि भएको छ। उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गर्दै आयोगले बिगो ९ हजार ५०० रुपैयाँ कायम गरेको छ।
अख्तियारले दुवै प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय तथा सोही दफाबमोजिम बिगो बराबर जरिवाना गर्न मागदाबी गरेको छ।












