भारतले दियो भैरहवा हवाई रुटको अनुमति, अन्तर्राष्ट्रिय उडान विस्तारको बाटो खुल्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारत भ्रमणका क्रममा नेपालले लामो समयदेखि उठाउँदै आएको अन्तर्राष्ट्रिय हवाई प्रवेशमार्गसम्बन्धी माग सम्बोधन हुने भएको छ । भारतले नेपाललाई भैरहवा हवाई रुट उपलब्ध गराउने सहमति जनाएको छ ।
नेपाल र भारतका प्रधानमन्त्रीबीच सोमबार भएको द्विपक्षीय वार्ताका क्रममा यस्तो सहमति जुटेको हो । भ्रमणपछि जारी संयुक्त प्रेस विज्ञप्तिको आठौँ बुँदामा हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको बी३४५ काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने उल्लेख गरिएको छ ।
उक्त मार्ग दुईतर्फी सञ्चालनमा आएपछि नेपालबाट भारत हुँदै हुने अन्तर्राष्ट्रिय हवाई उडान थप सहज हुने अपेक्षा गरिएको छ । यसले विशेषगरी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा व्यावसायिक गतिविधि विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
संयुक्त विज्ञप्तिमा हवाई मार्गलाई दुईतर्फी बनाउने सहमतिसँगै त्यसको कार्यान्वयन प्रक्रिया र आवश्यक प्राविधिक पक्ष टुङ्ग्याउन दुवै देशबीच परामर्श गरिने उल्लेख छ । साथै, छलफलका क्रममा रहेका नागरिक उड्डयनसम्बन्धी अन्य प्रस्तावलाई समेत प्राविधिक छलफलमार्फत अघि बढाइने भएको छ ।
दुई देशका प्रधानमन्त्रीबीच भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भने हवाई मार्गसम्बन्धी सहमतिबारे सार्वजनिक रूपमा उल्लेख गरिएको थिएन । तर, त्यसपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा नेपालले लामो समयदेखि गर्दै आएको हवाई प्रवेशमार्गसम्बन्धी माग सम्बोधन गर्ने सहमति समेटिएको हो ।
नेपाललाई भैरहवा हवाई मार्ग उपलब्ध गराउने विषयमा सहमति जुटेसँगै भारतले पनि नेपालको बागडोग्रा विमानस्थलका लागि हवाई मार्ग उपलब्ध गराउन प्रस्ताव गरेको विषय चर्चामा रहेको छ । भारतीय पक्षले राखेको उक्त प्रस्तावलगायत नागरिक उड्डयनसम्बन्धी अन्य विषयमा आगामी प्राविधिक परामर्शका क्रममा छलफल हुने विज्ञप्तिमा उल्लेख छ ।











