औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिटको गुणस्तर अनिवार्य सुनिश्चित गर्न निर्देशन

८ मंसिर २०८३, मंगलवार १०:०५

काठमाडौं । औषधि व्यवस्था विभागले औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित गर्न सम्बन्धित उद्योग तथा सरोकारवालालाई निर्देशन दिएको छ । औषधि उत्पादनका विभिन्न प्रयोजनमा सहायक कच्चा पदार्थका रूपमा प्रयोग हुँदै आएको रेक्टिफाइड स्पिरिटले औषधिको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको निर्धारित मापदण्डअनुसार गुणस्तर कायम गर्न विभागले निर्देशन दिएको हो ।

विभागका महानिर्देशक भरत भट्टराईका अनुसार हालसम्म विभिन्न अल्कोहल डिस्टिलरी, चिनी मिललगायतका उद्योगबाट व्यावसायिक रूपमा उत्पादन तथा बिक्री वितरण हुँदै आएको रेक्टिफाइड स्पिरिट औषधि उद्योगमा प्रयोग गरिँदै आएको छ । यसको उत्पादन तथा प्रशोधन प्रक्रिया आधिकारिक फार्माकोपियामा निर्धारित मापदण्डअनुसार भए नभएको सुनिश्चित गर्न आवश्यक रहेको उनले बताए ।

औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिटको गुणस्तर भारतीय फार्माकोपिया, ब्रिटिस फार्माकोपिया तथा संयुक्त राज्य अमेरिकाको फार्माकोपियालगायत मान्यताप्राप्त फार्माकोपियामा तोकिएका मापदण्डअनुरूप हुनुपर्ने विभागले जनाएको छ । निर्धारित मापदण्ड पूरा गरेको रेक्टिफाइड स्पिरिट मात्र प्रयोग गर्ने व्यवस्था मिलाउन विभागले सोमबार सम्बन्धित सबैलाई सूचित गरेको हो । उक्त व्यवस्था सूचना प्रकाशित भएको मितिले ३५ दिनपछि अनिवार्य रूपमा लागू हुने विभागले जनाएको छ ।

यसैगरी, विभागले प्लाटिनम समूहका औषधि तथा डायलाइसिस सोलुसनको बजार उपलब्धताबारे पनि जानकारी गराएको छ । जीवनरक्षक औषधिको नियमित आपूर्ति सुनिश्चित गर्दै बिरामीलाई सहज रूपमा उपलब्ध गराउने उद्देश्यले विभागले सम्बन्धित औषधि उपलब्ध गराउने फर्म तथा वितरकको विवरण सार्वजनिक गरेको हो ।

पछिल्लो समय प्लाटिनम समूहअन्तर्गतका सिस्प्लाटिन, कार्बोप्लाटिन तथा डायलाइसिस सोलुसन बजारमा उपलब्ध नभएको वा न्यून रहेको जानकारी प्राप्त भएपछि विभागले ती औषधि सहज रूपमा उपलब्ध गराउन सक्ने फर्म तथा वितरकको विवरण सार्वजनिक गरेको जनाएको छ । साथै, सम्बन्धित आयातकर्तालाई औषधिको मौज्दात, प्राप्ति तथा वितरणको अद्यावधिक अभिलेख व्यवस्थित रूपमा राख्न र बजारमा नियमित उपलब्धता सुनिश्चित गर्न अनुरोध गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*