तीर्थयात्री बोकेर अयोध्याबाट जनकपुर आइपुग्यो रेल

८ मंसिर २०८३, मंगलवार १०:१६

काठमाडौँ ।  भारतको उत्तर प्रदेशस्थित अयोध्याबाट जनकपुरधामका लागि प्रस्थान गरेको सरयू कमला एक्सप्रेस रेल आज बिहान जनकपुरधाम आइपुगेको छ। सोमबार दिउँसो अयोध्याबाट हिँडेको रेल जनकपुरधाम आइपुग्दा स्थानीयवासी, सरकारी प्रतिनिधि तथा सर्वसाधारणले नेपाल र भारतका राष्ट्रिय झण्डा फहराउँदै भव्य स्वागत गरेका छन्।

स्वागतका लागि रेल्वे स्टेशन पुगेका स्थानीयले तीर्थयात्रीलाई फूलमाला लगाएर अभिनन्दनसमेत गरेका थिए। धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित सुरु गरिएको जनकपुरधाम–अयोध्या रेल सेवाको पहिलो यात्राले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ आयाम दिएको छ।

राजकीय भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँ दिल्लीबाट संयुक्त रूपमा हरियो झण्डा देखाएर रेल सेवाको उद्घाटन गरेका थिए। त्यसपछि अयोध्याबाट जनकपुरधामका लागि छुटेको सरयू कमला एक्सप्रेसमा १७ वटा डब्बा रहेका छन्।

अयोध्या भगवान् रामको जन्मभूमि तथा जानकीको ससुराली हो भने जनकपुरधाम जानकीको माइती र रामको ससुरालीका रूपमा परिचित छ। त्रेतायुगदेखि जोडिएको राम–जानकीको सम्बन्धलाई धार्मिक पर्यटनमार्फत थप सुदृढ बनाउने अपेक्षासहित सुरु गरिएको यो रेल सेवाले नेपाल र भारतबीचको रोटीबेटी सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गतिविधिमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*