राष्ट्रपतिबाट जनसेवाश्री पदकद्वारा पत्रकार गिरिजा अधिकारी बिभुषित

काठमाडौं । नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गिरिजा प्रसाद अधिकारीलाई प्रतिष्ठित जनसेवा श्री पदकबाट विभुषित गर्नुभएको छ । दुई दशक भन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील अधिकारीले पत्रकारिता मार्फत् पुर्याउनुभएको विशिष्ठ योगदानको कदर गर्दै विभुषित गरिएको गृह मन्त्रालयले जनाएको छ ।
पर्साको प्रतीक दैनिकबाट पत्रकारिता यात्रा सुरु गर्नुभएका अधिकारी विभिन्न छापा, रेडियो, टेलिभिजन हुँदै हाल तु खबर डटकमको सम्पादकको रुपमा कार्यरत हुनुहुन्छ । उहाँले यसअघि नयाँ पत्रिका दैनिक, सौर्य दैनिकमा क्रमशः उपसम्पादक, बरिष्ठ उपसम्पादक तथा थाहा सन्देश दैनिक, रेडियो सरोबर तथा टिम टेलिभिजनमा डेस्क सम्पादकको रुपमा काम गरिसक्नु भएको छ ।
पत्रकारिताको इतिहाससँग सम्बन्धित पुस्तक मकवानपुरमा मिडियाका लेखक अधिकारीले समसामयिक विषयमा राष्ट्रियस्तरका मिडियाहरुमा लेखहरु पनि लेख्दै आउनुभएको छ । पत्रकारिता र साहित्यमा नेपालमा परिचित अधिकारीलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारसमेत दर्जनभन्दा बढी पुरस्कारबाट पुरस्कृत समेत हुनुहुन्छ ।











