राष्ट्रपति भण्डारीबाट डा. उपेन्द्र महतोलाई सुकीर्तिमय राष्ट्रदीप पदक प्रदान

४ बैशाख २०७९, आईतवार १६:१७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मानपदवीबाट विशिष्ट व्यक्ति, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई प्रदान गरेको छ ।

गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषितमध्ये सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी पदक प्रतिष्ठित व्यवसायी तथा समाजसेवी डा. उपेन्द्र महतोलाई प्रदान गरिएको हो । डा. महतो गैरआवासी नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष र नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको संयुक्त हस्ताक्षरमा प्रदान गरिएको विभुषण अधिकारपत्रमा भनिएको छ,‘नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा तपाईँबाट भएको उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै सम्मानस्वरुप सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीद्वारा विभूषित गरिएको । मानपदवीको गरिमा अक्षुण्ण राख्दै नेपाल र नेपाली जनताको गौरव एवं श्रीवृद्धिमा तपाईंलाई थप सफलता प्राप्त हुनेछ ।’

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, गृहमन्त्री बालकृष्ण खाँणलगायत मन्त्री, र उच्चपदस्थ सरकारी अधिकारीको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*