कोरोना संकटमा अपाङ्गता भएका नागरिकको जीवन रक्षा बारे डिजिटल अन्तरक्रिया सम्पन्न

३१ बैशाख २०७८, शुक्रबार १९:१०

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको आयोजना र राष्ट्रिय अपाङ्ग महासंघ नेपालसँगको समन्वयमा कोरोना महामारीको संकटमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको अवस्था र दिगो विकासका लक्ष्यहरुका विषयमा भर्चुअल अन्तरक्रिया÷छलफल कार्यक्रम आज सम्पन्न भएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगका माननिय सदस्य सूर्य ढुङ्गेलको अध्यक्षतामा भएको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको जीवन रक्षाको विषय महत्वपूर्ण भएको सहभागीहरुले औल्याएका छन् ।

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डाक्टर रामकृष्ण तिमल्सिना लगायत अपाङ्गतासँग सरोकार राख्ने विभिन्न व्यक्तिहरुले आफ्ना धारणाहरु राखेको राष्ट्रिय अपाङ्ग महासंघले जनाएको छ ।

यसैबीच, महामारीको समयमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको अवस्था र दिगो विकासको लक्ष्यहरुको विषयमा प्रस्तुती दिदै राष्ट्रिय अपाङ्ग महासंघका महासचिव राजु बस्नेतले पहुँचयुक्त सूचनाको अभाव, स्वास्थ्य सेवामा कमजोर पहुँच, रोजगारीको अवसरबाट बञ्चिती लगायत विभिन्न समस्याका कारण अपाङ्गता भएका व्यक्तिहरुलाई दैनिक जिवनयापनमा कठिनाई भएकोले सरोकारवाला सबैले महामारीमा अपाङ्गता भएका व्यक्तिहरुको बाँच्न पाउने अधिकारको सुनिश्चित गर्दै आधारभुत आवश्यक्ताको प्रत्याभुती प्रदान गरिनुपर्नेमा जोड दिए ।


महासचिव बस्नेतले कोभिडबाट प्रभावित अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिई सेवा उपलब्ध गराउन राष्ट्रिय मानव अधिकारी आयोगले सरकारलाई सिफारिस गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । साथै अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धीको कार्यान्वयनमा संयुक्त अनुगमन, अपाङ्गता भएका व्यक्तिका मानवअधिकार हनन्का मुद्धाको द्रुत मार्गबाट सम्बोधन, म्याराकस ट्रिटीको अनुमोदनमा सहजीकरण, मानव अधिकारमा आधारित तथ्याङ्क संकलन र व्यवस्थापनमा जोड दिनुपर्ने लगायत मागहरु आयोग समक्ष प्रस्तुत गरेका छन् ।

कार्यक्रमको अध्यक्षता समेत गर्नुभएको राष्ट्रिय मानवअधिकार आयोगका सदस्य डाक्टर सूर्य ढुङ्गेलले अपाङ्गता भएका व्यक्तिहरुको खण्डिकृत तथ्याङ्क र पहुँचयुक्त सूचनाको प्रसारण मुख्य रुपमा आवश्यक रहेको बताउँदै महामारीको समयमा अपाङ्गता भएका व्यक्तिहरुको जीवन रक्षा, स्वास्थ्य रक्षा, सामाजिक सुरक्षा लगायत विभिन्न अधिकारको कार्यान्वयनका लागी राष्ट्रिय मानवअधिकार आयोगले पहल गर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका ७ वटै प्रदेशका अध्यक्षहरुले आफुहरुको सम्पर्कमा रहेका कोरोना प्रभावित अपाङ्गता भएका व्यक्तिहरुको अवस्थाबारे जानकारी गराएका थिए । प्रदेश अध्यक्षहरुको सम्पर्कमा आएको जानकारी अनुसार प्रदेश १ मा ४ जना कोरोना पोजेटिभ र १ जनालाई आइसियुमा राख्नुपर्ने अवस्था रहेको छ भने प्रदेश २ मा २० जना कोरोना पोजेटिभ तथा बाग्मती प्रदेशमा २५ जना कोरोना संक्रमित रहेका छन र उनिहरुमध्ये २३ जना होम आइसोलेशनमा र २ जना अस्पतालमा रहेका छन् ।

सुदुरपश्चिम प्रदेशमा २ जना अपाङ्गता भएका व्यक्तिहरुको ज्यान गएको जानकारी दिइएको छ । यस्तै गण्डकी प्रदेशमा १ जना अपाङ्गता भएका व्यक्तिको ज्यान गएको जानकारीमा छ भने लुम्बिनी प्रदेशमा ५ जना अपाङ्गता भएको व्यक्तिको ज्यान गएको जानकारी दिइएको छ । यसैगरी कर्णाली प्रदेशका विवरण प्राप्त भएको छैन ।

कार्यक्रममा सहभागी राष्ट्रिय अपाङ्ग महासंघका प्रदेश अध्यक्षहरुले कोरोना महामारीको समयमा अपाङ्गता भएका व्यक्तिहरुप्रति लैङ्गिक विभेद बढ्दै गएको र बहु–अपाङ्गता भएका व्यक्तिहरुमाथी बलात्कार तथा हिंसाको घटनामा बढोत्तरी भएको बताएका थिए ।

उनिहरुले यस्तो अवस्थामा स्पाइनल कर्ड इन्जुरी भएका अपाङ्गता भएका व्यक्तिहरु तथा मनोसामाजिक एवं हेमोफेलिया र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुले नियमित सेवन गर्ने औषधी र स्वास्थ्य सुविधाबाट बञ्चित रहेकोले उनिहरुको स्वास्थ्य, जिवन रक्षा तथा सुरक्षा एवं राहतको व्यवस्था गर्नका लागी राष्ट्रिय मानवअधिकार आयोग, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, गृह मन्त्रालय, राष्ट्रिय अपाङ्ग महासंघ लगायत सम्बन्धित सरोकारवालाहरुसँग अनुरोध गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सहसचिव नवराज सापकोटाले दिगो विकासका लक्ष्य र अपाङ्गता भएका व्यक्तिका अधिकारको अवस्था विषयमा प्रस्तुती दिएका थिए । कार्यक्रममा दिगो विकासका लक्ष्यहरुको उपलब्धीमा अपाङ्गता भएका व्यक्तिहरुको विभिन्न सूचकाङ्कहरु समेटिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*