बझाङमा आधा घण्टाभित्रै भूकम्पका दुई धक्का, धेरै ठाउँमा भौतिक क्षति, राजमार्गमा सुख्खा पहिरो

काठमाडौं । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा झण्डै आधा घण्टाको अन्तरमा दुई पल्ट भूकम्प गएको छ । भूकम्पका कारण सुदूरपश्चिमको प्रदेश राजधानीसँग बझाङलाई जोड्ने जयपृथ्वी लोकमार्गमा सुख्खा पहिरो गएको छ भने केही स्थानमा भूकम्पले व्यक्तिका घर तथा विद्यालय संरचना भत्किएका छन् ।
सुख्खा पहिरोले राजमार्ग अवरुद्ध भएको र परकम्पको त्रासले बाटो खोल्न नसकिएको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए । उनले बीमापोष्टसँग भने, ‘२३ मिनेटको अन्तरमा दुई ठूला धक्का महसुस गरिएको छ । भूकम्पले गरेको मानवीय क्षति भएको विवरण हालसम्म आएको छैन । परकम्प आइरहेका कारण भौतिक क्षतिको विवरण संकलनमा समेत कठिनाई भएको छ ।’

दिउँसो २ः४० मा तलकोट केन्द्रविन्दु भएर ५.३ म्योग्नेच्युडको भूकम्प गएको र त्यसको २३ मिनेट आसपासमा चैनपुर छेउछाउ केन्द्रविन्दु भएर ६.३ म्याग्नेच्युडको भूकम्प गएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए । यो भूकम्पको धक्काले सुदूरपश्चिमका अन्य पहाडी जिल्लामा समेत घर संरचना भत्काएको जानकारीहरु सामाजिक सञ्जालमार्फत आइरहेका छन् ।

स्थानीयका अनुसार भूकम्पको धक्काले बझाङको दुर्गाथली गाउँपालिका, तल्कोट गाउँपालिका, जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिकाका विभिन्न पुराना सरकारी कार्यालय, विद्यालयहरु र घरहरु भत्किएका छन् । बझाङ भूकम्पको त्रासले अस्पतालभित्रै गराइनु पर्ने प्रसुति समेत बाहिरै गराउनु परेको तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट भएका छन् ।














