नेप्सेमा संरचनागत सुधार अघि बढाउँदै सेबोन, इन्ट्राडे र डेरिभेटिभ्स ल्याउने तयारी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को संरचनागत सुधार, प्राविधिक सुदृढीकरण र संस्थागत क्षमता अभिवृद्धिको प्रक्रिया अघि बढाउने भएको छ ।
अर्थ मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार अघिल्लो सरकारको पालामा रामेश्वर खनाल नेतृत्वको समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनमा लैजाने तयारी सुरु भएको सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्टले जानकारी दिएका छन् ।
बुधबार बसेको संघीय संसद्को अर्थ समितिको बैठकमा बोल्दै अध्यक्ष भट्टले पुँजी बजारको विद्यमान संरचना तथा पछिल्लो समय नेप्सेमा देखिएका साइबर सुरक्षा चुनौतीलाई गम्भीर रूपमा लिइएको बताए । नेप्सेको कार्यक्षमता, सुशासन र संस्थागत क्षमता सुधारका लागि आगामी सातादेखि सञ्चालक समितिसँग छलफल गरी पुनर्संरचनाको प्रक्रिया अघि बढाइने उनले बताए ।
नेप्सेको स्वामित्व तथा संरचनागत परिवर्तन सरकारको क्षेत्राधिकारमा पर्ने भए पनि नियमनकारी निकायका रूपमा सेबोनले आफ्नो जिम्मेवारीअन्तर्गतका सुधारका काम अघि बढाउने अध्यक्ष भट्टले स्पष्ट पारे ।
‘नेप्सेको स्वामित्व तथा पुनर्संरचनाको विषय सरकारले हेर्नेछ । अर्थ मन्त्रालयले यससम्बन्धी पूर्ववर्ती समितिको प्रतिवेदन कार्यान्वयनका लागि बोर्डलाई पत्र पठाइसकेको छ,’ उनले भने, ‘त्यसका आधारमा सेबोनले नेप्सेसँग छलफल गरी आफ्नो क्षेत्राधिकारभित्र पर्ने सुधार प्रक्रिया अघि बढाउनेछ ।’
उनका अनुसार नेप्सेको साइबर सुरक्षा, आईटी प्रणाली, सुशासन तथा संस्थागत क्षमता सुधारलाई प्राथमिकतामा राखिएको छ । पछिल्लो समय पुँजी बजारमा प्रविधिको प्रयोग बढ्दै गएसँगै कारोबार प्रणालीको सुरक्षा र विश्वसनीयतालाई समेत उच्च प्राथमिकता दिइएको उनले बताए ।
यसैगरी, सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को सुधारका लागि अर्थ मन्त्रालयबाट प्राप्त २१ बुँदे निर्देशन कार्यान्वयनको प्रक्रिया पनि सुरु भएको छ । सीडीएससीलाई भविष्यमा ‘सेन्ट्रल काउन्टरपार्टी’ का रूपमा विकास गर्ने योजना रहेको अध्यक्ष भट्टले बताए ।
सेन्ट्रल काउन्टरपार्टीको व्यवस्था लागू भएपछि सेयर कारोबारको सेटलमेन्ट प्रक्रियामा थप सुरक्षा र ग्यारेन्टीको व्यवस्था हुने अपेक्षा गरिएको छ । यसले कारोबारमा संलग्न पक्षबीचको जोखिम व्यवस्थापनलाई थप व्यवस्थित बनाउने बोर्डको भनाइ छ ।











