सानिमा बैंकमा सुशासन माग्दा खुट्टा भाँच्ने धम्की, सिईओ भन्छन्, ‘आरोप प्रमाणित भइसकेको छैन’

१४ आश्विन २०८३, बुधबार १२:२०

काठमाडौँ । सानिमा बैंक लिमिटेडको व्यवस्थापन शैली, कर्जा वितरण तथा असुली प्रक्रिया र संस्थागत सुशासन तथा पारदर्शितालाई लिएर पछिल्लो समय प्रश्न उठ्न थालेका छन् । पछिल्लो समय बैंकभित्र सुशासनका लागि विभिन्न सूचनाहरु माग गरेका एक शेयरधनीलाई कम्पनी सचिव रुद्र बञ्जाराले खुट्टा भाँचिदिने सम्मको धम्की दिएको तथ्य फेला परेको छ ।

सो बिषयमाथि बैंकका सिईओ पवन आचार्य तथा अध्यक्ष टुक प्रसाद आचार्यले छानविन गरी दोषीमाथि कारवाही गर्न कुनै चासो नदेखाएपछि गत साता बैंकको बार्षिक साधारणसभामै पनि कुरा उठेको थियो ।
बैंकको गत वार्षिक साधारणसभा तथा त्यसमा हुने सञ्चालक निर्वाचनलाई लिएर साधारण शेयरधनी अंगराज भारती र कम्पनी सचिव रुद्र बन्जाराबीच भएको भनिएको टेलिफोन संवाद विवादको केन्द्रमा आएको छ । भारतीले आफूले निर्वाचनमा उम्मेदवारी दिने तयारी गरिरहेको र त्यसका लागि आवश्यक जानकारी लिन कम्पनी सचिव बन्जारालाई फोन गर्दा खुट्टा भाँच्नेसम्मको धम्की दिइएको आरोप लगाएका छन् ।

पीडितका अनुसार २०८३ भदौ २२ गते साँझ करिब ७ बजेर १० मिनेटमा कम्पनी सचिव बन्जाराको मोबाइल नम्बरमा तीनपटक फोन गरिएको थियो । निर्वाचन र साधारणसभासम्बन्धी विषयमा कुराकानी भइरहेका बेला बन्जारा आक्रोशित बनेको र त्यसक्रममा आफूलाई ‘पुलिस केस गरी हातखुट्टा भाँचिदिन्छु’ भन्ने किसिमको धम्की दिइएको भारतीको आरोप छ । सानिमा बैंकका कम्पनी सचिवले प्रहरी लगाएर शेयरधनीमाथि शारिरिक रुपमा नै आक्रमण गर्ने धम्की दिइएको बिषय निकै गम्भिर छ ।

भारतीले आफ्नो आरोप पुष्टि गर्न आफूहरूसँग फोन संवादको रेकर्ड रहेको र आवश्यक परे सम्बन्धित निकायसमक्ष प्रमाणका रूपमा प्रस्तुत गर्न सकिने बताएका छन् । उनले नेपाल टेलिकमबाट सम्बन्धित कल विवरण तथा अन्य कानुनी प्रक्रियामार्फत समेत घटनाको सत्यतथ्य छानबिन गर्न सकिने बताएका छन् ।

भारतीले भने, “म साधारण शेयरधनी हुँ । आगामी वार्षिक साधारणसभामा हुने निर्वाचनमा उम्मेदवारी दिने सोच बनाएर त्यसको तयारीस्वरूप केही जानकारी लिन कम्पनी सचिवलाई फोन गरेको थिएँ । कुराकानीकै क्रममा उहाँ एक्कासी आक्रोशित हुनुभयो र पुलिस केस गरी हातखुट्टा भाँचिदिन्छु भन्नुभयो ।”

उता, सानिमा बैंकका कम्पनी सचिव रुद्र बन्जाराले भने आफूले कुनै प्रकारको धम्की नदिएको स्पष्ट पारेका छन् । उनले घटनासम्बन्धी वास्तविकता प्रमाणबाटै पुष्टि गर्न सकिने भन्दै आवश्यक परे सम्बन्धित निकायबाट कल विवरण तथा अन्य प्रमाण संकलन गर्न सकिने बताएका छन् । बन्जाराले भने, “मैले कुनै धम्की दिएको छैन । हामीसँग पनि प्रमाण छ । टेलिकमबाट रेकर्ड मागाए हुन्छ ।”

बरु आफूलाई नै व्यक्तिगत रूपमा फोन गरेर धम्की दिइएको बन्जाराको दाबी छ । परिवारसँग बसेको अवस्थामा समेत आफूलाई फोनमार्फत धम्की दिइएको उनको भनाइ छ । बन्जाराले भने, “साँझ परिवारसँग बसेको बेला धम्क्याउने ? हाम्रो परिवार हुँदैन ? हाम्रो व्यक्तिगत जीवन हुँदै को हो ? मलाई धम्क्याउने ?”

यस घटनाले सानिमा बैंकको संस्थागत सुशासन, शेयरधनीसँगको सम्बन्ध र व्यवस्थापनको जवाफदेहितामाथि समेत बहसलाई थप सतहमा ल्याएको छ । त्यति मात्रै नभई वर्तमान सरकारको नाम समेत दुरुपयोग गरेर सानिमा बैंकका कर्मचारीहरुले शेयरधनीहरुलाई धम्क्याउने गरेको खुलेको छ । सानिमा बैंकमा अहिलेका अर्थमन्त्री स्वर्णिम वाग्लेको पनि शेयर भएको कम्पनी हो । सोही कारण सो बैंकका कर्मचारीहरुले पावर लगाएको हुनसक्ने देखिएको छ । पीडित भारतीले सानिमा बैंकभित्रको भ्रष्टाचार, बेथितीमाथि प्रश्न गर्दै सुशासनका लागि सूचना माग गर्दै आएका थिए । सुशासन खोज्ने माथि उल्टै धम्की दिने बैंकको कार्यशैलीमा रमिता हेरेर बस्ने राष्ट्र बैंकका उच्च अधिकारीको नियतमाथि पनि प्रश्न उठेको छ ।

यसैबीच बैंकका प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले घटनाबारे बैंकले आन्तरिक रूपमा छानबिन गरिरहेको बताएका छन् । उनले अनुसन्धान पूरा नभएसम्म र प्रमाणित नभएसम्म घटनामा संलग्न कुनै पनि पक्षलाई दोषी करार गर्न नमिल्ने बताएका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*