सूर्योदय वोमी लघुवित्तले माग्यो नायव प्रमुख कार्यकारी अधिकृत

१४ आश्विन २०८३, बुधबार १२:५३

काठमाडौँ ।  सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले नायव प्रमुख कार्यकारी अधिकृत पदमा एक जना कर्मचारी करारमा नियुक्त गर्ने भएको छ। संस्थाले खुला प्रतियोगितामार्फत पदपूर्ति गर्न इच्छुक तथा योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।

संस्थाका अनुसार उक्त पदका लागि स्नातकोत्तर तह वा सोसरह उत्तीर्ण गरी लघुवित्त वा बैंक तथा वित्तीय संस्थाको व्यवस्थापकीय तहमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ। त्यस्तै, स्नातक तह वा सोसरह उत्तीर्ण गरेका उम्मेदवारको हकमा व्यवस्थापकीय तहमा कम्तीमा सात वर्षको कार्य अनुभव आवश्यक पर्नेछ।

अर्थशास्त्र वा व्यवस्थापन विषयमा उपाधि हासिल गरेका तथा चार्टर्ड एकाउन्टेन्सी अध्ययन गरेका उम्मेदवारलाई विशेष प्राथमिकता दिइने संस्थाले जनाएको छ। दरखास्त दिने अन्तिम मितिसम्म उम्मेदवारको उमेर ३५ वर्ष पूरा भई ५५ वर्ष ननाघेको हुनुपर्नेछ।

इच्छुक उम्मेदवारले आगामी २०८३ कार्तिक १३ गतेसम्म इमेलमार्फत आवेदन दिन सक्नेछन्। आवेदन [email protected] मा पठाउनुपर्नेछ।

नियुक्ति करारमा तीन वर्षका लागि हुनेछ भने संस्थाको नियमानुसार करार नवीकरण गर्न सकिनेछ। छनोट प्रक्रियाअन्तर्गत प्रारम्भिक रूपमा उम्मेदवारलाई छोटो सूचीमा छनोट गरिनेछ। छोटो सूचीमा परेका उम्मेदवारले तोकिएको ढाँचामा व्यावसायिक कार्ययोजना तथा रणनीति प्रस्तुत गर्नुपर्नेछ। कार्ययोजना तथा रणनीति प्रस्तुत गर्ने उम्मेदवारलाई मात्र अन्तर्वार्ताका लागि बोलाइने संस्थाले जनाएको छ।

छोटो सूचीमा छनोट भएका उम्मेदवारलाई आवश्यक कागजात, विवरण तथा स्वघोषणासम्बन्धी कागजात पेश गर्नसमेत सूचित गरिनेछ। प्राप्त आवेदनलाई छनोट उपसमितिले आवश्यकताअनुसार कुनै कारण उल्लेख गरी वा नगरी रद्द गर्न सक्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*