भारतमा कोरोना संक्रमणको अवस्था झनै भयावह, नेपालको गाउँ गाउँमा फैलदै कोरोना

२५ बैशाख २०७८, शनिबार ०८:३९

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको प्रकोप दिनदिनै नयाँ नयाँ रेडर्क राख्दै अघि बढिरहेको छ । पछिल्लो तथ्याङ्कले भारतमा नयाँ रेडर्क राख्दै एकै दिन चार हजार १९४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बिहिवार तीन हजार ९२० जनाको मृत्यु भएको भारतमा शुक्रबार मृत्यु हुनेको संख्या झनै बढेको हो ।

भारतमा संक्रमित हुनेहरुको संख्या पनि दिन दिनै बढ्ने क्रममा रहेको छ । दैनिक चार लाख भन्दा बढि संक्रमित हुनेको संख्या फेला पर्ने क्रम जारी छ । शुक्रबार एकै दिन चार लाख ए हजार ३२६ जना संक्रमित पुष्टि भएको वल्डोमिटर्सले जनाएको छ ।
उता, थुप्रै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले भने भारतमा कोरोनाबाट मृत्यु हुने र नयाँ संक्रमित हुनेको संख्या तथ्याङ्कमा आएको भन्दा दोब्बर भन्दा बढि भएको भन्दै समाचार सम्प्रेषण गरेका छन् । भारतीय सञ्चार माध्यम द प्रिन्टमा एक साताअघि प्रकाशित समाचार अनुसार हाल बाहिर सार्वजनिक नभएको तथ्याङ्क भन्दा दोब्बर बढि रहेको दावी गरिएको छ ।

न्यूयोर्क टाईम्समा २४ अप्रिलमा प्रकाशित समाचारमा भारतमा कोरोना भाइरसबाट मृत्यु हुने तथा संक्रमितहरुको गणना गर्न असम्भव रहेको दावी गरिएको छ । भारतीय पत्रकार हरिकुमार तथा सुवासिनी राजको बाइलाइनमा प्रकाशित समाचारमा अत्तालिएका भारत सरकार र अस्पताल प्रशासनले ठूलो मात्रामा शवहरुको गणना गर्न नसकेको उल्लेख छ ।

यसैबीच, बेलायतले एक हजार वटा भेन्टिलेटर र १८ टन वजन भएको तीन वटा अक्सिजन उत्पादन गर्ने जेनेरेटर भारत पठाएको छ । विश्वकै सबैभन्दा ठूलो कार्गो जहाजमा ति सामानहरु लोड गरेर भारत तर्फ आउँदै गरेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

भारतमा हालसम्म दुई करोड १४ लाख भन्दा बढिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सरकारी तथ्याङ्क छ । त्यस्तै, हालसम्म दुई लाख ३४ हजार ८३ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलदै जाँदा खुल्ला सीमा रहेको नेपालमा समेत त्यसको प्रत्यक्ष प्रभाव परिरहेको छ । राजधानी काठमाडौं सहित देशका प्रमुख शहर तथा भारतसँग सीमा जोडिएको शहरहरुमा कोरोना भाइरसको महामारी तीव्र गतिमा फैलिरहेको छ । शहरी क्षेत्रमा भएका अस्पतालहरुमा भेन्टिलेटर तथा अक्सिजनको अभाव भइरहेको छ भने ग्रामिण क्षेत्रका जनताहरु कोरोना भाइरसबाट झनै प्रताडिने खतरा बढेको छ । पछिल्लो समय गाउँ गाउँमा समेत भाइरस पुगिसकेकोले आगामी दिन अझै चुनौतिपूर्ण हुने विश्लेषण गरिएको छ ।

नेपालमा पछिल्ला दिनहरुमा दैनिक ५० जना भन्दा बढिको मृत्यु भएको छ । शुक्रबार मात्रै ५० जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ भने नौ हजार २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको सरकारी तथ्याङ्क छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*