एशियन लाइफ इन्स्योरेन्स बर्दघाटमा कार्यरत कर्मचारीको कोरोना संक्रमणबाट निधन

बीमा जनचेतना जगाउँदा–जगाउँदै कोरोना भाइरसको संक्रमणबाट बिते मेहतनी ढकाल
२ जेष्ठ २०७८, आईतवार १३:२१

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको परासी जिल्लाको बर्दघाट शाखामा कार्यरत बरिष्ठ सहायकको महेश ढकालको कोरोना संक्रमणको कारण निधन भएको छ ।

बीमा जनचेतना जगाउँदै विकट ग्रामिण बस्तीमा पुग्ने गरेका ढकाललाई एक साताअघि मात्रै कोरोना पुष्टि भएको थियो । उनको गएराति तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको अस्थायी अस्पतालमा निधन भएको हो ।

चैत्र महिनाभित्र बीमा जनचेतना जगाउने अभियानमा सुस्तामा पुगेका उनलाई बैशाखकोअन्तिम साता कोरोना भाइरसको संक्रमण देखिएको थियो । एशिन लाइफ इन्स्योरेन्स कम्पनीको बर्दघाट शाखाका प्रमुख शिव चालिसेले ढकालको मृत्यु भएको पुष्टि गरेका छन् । उनले भने, ‘एक साताअघिसम्म हामीले सँगै काम गरेका हौं, तीन दिन अघिसम्म बोल्दै हुनुहुन्थ्यो । आज विहान बितेको खवर आयो ।’ उनी बर्दघाट शाखा आउनु अघि दाङको घोराही शाखामा कार्यरत थिए ।

एक साता अघि आफू कार्यरत शाखा कम्पनीका शाखा प्रमुख चालिसेलाई फोन गरी राति निद्रा नलागेको, शरीरमा हलुका ज्वरो आएको भन्दै टेलिफोन गरेपछि भोलिपल्ट कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएपछि उनी घर गएर आइसोलेशनमा बसेका थिए । निमोनियाले गाँज्दै लगेपछि उनी अस्पताल भर्ना भएका थिए । अक्सिजनको मात्रा बढ्न नसकेको भन्दै अन्तिम पटक आफू कार्यरत कम्पनीमा टेलिफोन गरेको शाखा प्रमुख चालिसेले बीमा पोष्टलाई जानकारी दिए ।

ढकाल निकै मेहनती थिए । परासीको सुस्ता आसपास क्षेत्र देखि विकट क्षेत्रमा बीमा जनचेतना जगाउने अभियान चलाउँदै आएका थिए । बीमा चेतना ग्रामिण बस्तीहरुमा पुर्याउनुपर्ने धारणा राख्ने ढकाल कहिले विद्यालयमा सामाजिक उत्तर दायित्व अन्तर्गत कापी–कलप बोकेर दौडन्थे त कहिले ग्रामिण क्षेत्रका गाउँ बस्तीमा पुगेर बीमा जनचेतना सम्बन्धी कार्य गरिरहन्थे । ढकालको निधनले जीवन बीमा क्षेत्रले एक बीमा जनचेतनाका अभियान्ता गुमाएको छ ।

विवाहिता ढकालका दुई सन्तान छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*