ओमानमा रहेका नेपालीले पठाए ५६० वटा अक्सिजन सिलिण्डर

२ जेष्ठ २०७८, आईतवार १३:३४

काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्ट नेपालमा तीव्र रुपमा फैलिँदै गएपछि अक्सिजनको कमी हुन थालेको छ । विभिन्न अस्पतालहरुले अक्सिजनको कमी भएको र चाँडो व्यवस्था नगरेमा अवस्था जटिल बन्न सक्ने बताएको छ ।

यसैबीच ओमानमा रहेका नेपालीहरुले अक्सिजन व्यवस्थापनमा सहयोग होस् भन्ने हेतुले ५६० वटा अक्सिजन सिलिण्डर नेपाल पठाएका छन् । अक्सिजनको कमीले कसैको ज्यान नगुमोस् भन्ने सोचले ओमानमा वैदेशिक रोजगारका लागि गएका नेपालीहरुले संयुक्त योजनमा ५६० अक्सिजनको सिलिण्डर नेपाल पठाएका हुन् ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तर्रगत मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा ओमानमा रहेका नेपालीहरुबाट ५ सय ६० अक्सिजन सिलिण्डर काठमाडौंमा आइपुगेको हो ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ओमानको पहल, ओमानस्थित नेपाली राजदूताबास, विभिन्न नेपाली संघसंस्था एवं आम गैरआवासीय नेपालीहरुको संयुक्त सहयोग र सहकार्यमा नेपाल ल्याइएको अक्सिजन सिलिन्डर ७५ लाख रुपैयाँ बराबरको रहेको छ ।

कोरोना संक्रमणको दर तीव्र रुपले बढ्दै गइरहेको छ । अवस्था अझै जटिल बन्दै गइरहेको छ । अक्सिनको कमीले ठाउँठाउँमा मानवीय क्षति बढिरहेको छ । यस्तो अवस्थामा संक्रमितको मृत्यु नहोस् भनि अक्सिजन, भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, औषधी तथा अन्य स्वास्थ्य सामग्रीको माग बढीरहेको छ । देशको स्वास्थ्य सम्बन्धि यस्तो जटिल अवस्थालाई मध्यनजर गर्दै संघले यसअघि नै विश्वव्यापी रुपमा सहयोग संकलनको अभियान सुरुवात गरको हो ।

ओमानदेखि काठमाडौँसम्मको अक्सिजन सिलिन्टर ढुवानीको खर्च भने सरकारले व्यहोरेको छ । संघका अनुसार संघले विदेशस्थित राजदूताबास, कूटनीतिक नियोग, संघका राष्ट्रिय समन्वय समिति लगायत विभिन्न नेपाली संघसंस्था तथा आम गैरआवासीय नेपालीहरुसँग सहकार्य गरिरहेकोे छ । ओमानबाट नेपाल ल्याइएका अक्सिजन सिलिन्डर तत्काल आवश्यक पर्ने संक्रमित समक्ष चाँडै पुगोस् भन्ने उद्देश्यले सरकारसमक्ष आज हस्तान्तरण गरिने भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*