काठमाडौंमा कोभिड–१९ विरुद्धको खोप भेरोसेलको दोस्रो डोज लगाउन सुरु, ३२ वटै वडाबाट उपलब्ध

२ जेष्ठ २०७८, आईतवार १५:४७

काठमाडौं । कोभिड–१९ नयाँ भेरियन्टको संक्रमण तीव्र रुपमा फैलिरहेको छ । काठमाडौंमा यसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज जेठ २ गतेबाट लगाउन सुरु गरेको छ । काठमाडौं जिल्लाका पालिका र काभ्रेमा समेत आइतबारबाट दोस्रो डोज लगाउन शुरु गरिएको हो ।

काठमाडौं महानगरपालिका भित्रका विभिन्न पालिका र वडाहरुमा खोप केन्द्र तोकिएको छ । महानगरपालिका भित्र ३२ वटै वडामा र महाराजगञ्ज मेडिकल क्याम्पस गरी काठमाडौं भरी ५० खोप केन्द्र तोकिएका छन् । खोप केन्द्र खुला स्थानमा नहुँदा खोप लगाउन घण्टौं लाइनमा बस्नुपरेको खोप लगाउनेहरुको गुनासो रहेको छ ।

काठमाडौंका विभिन्न पालिकाहरुमा हिज २ गतेबाट खोप लगाउन शुरु गरिएको हो भने काभ्रेमा आजबाट खोप लगाउन सुरु गरिएको छ । खोप केन्द्र गल्लीभित्र र साँघुरो ठाउँमा राख्दा तोकिएको केन्द्रमा खोप लगाउन आउनेहरु लामो लाइनमा बस्न बाध्य छन् ।

जिल्ला स्वास्थ्य कार्यालय काठमडौंका अनुसार काठमाडौंमा चैत २५, २६, २७ र २८ गते भेरोसेलको पहिलो डोज लगाएकाले जेठ २ गते, चैत २९ र ३० गते लगाएकाले जेठ ३ गते, चैत ३१ र बैशाख २ गते खोप लगाएकाले जेठ ४ गते, बैशाख ३ र ४ गते लगाएकाले जेठ ५ गते, बैशाख ५ र ६ गते खोप लगाएकाले जेठ ६ गते दोस्रो डोज लगाउन सक्नेछन् । यस्तै, बैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकाहरुले जेठ ७ गते, बैशाख ११ र १२ गते लगाएकाले जेठ ८ गते, बैशाख १३ गते पहिलो डोज लिएकाले जेठ ९ गते दोस्रो डोज लिन सक्नेछन् ।
त्यस्तै, बैशाख १४ गते पहिलो डोज लिएका व्यक्तिहरुले जेठ १० र बैशाख १५ गते खोप लिएकाले जेठ ११ गते दोस्रो डोज लगाउन सक्ने जनाएको छ ।

दोस्रो डोज लगाउन जाँदा पहिलो डोज लगाउँदा दिइएको खोप कार्ड अनिवार्य रुपमा लग्नु पर्नेछ । पहिलो डोजको खोप लिएकाहरुले बिहान १० देखि ४ बजेसम्म नजिकको खोप केन्द्रमा गएर खोप लिन सक्नेछन् ।

कहाँबाट लगाउने खोप ?
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौंका विभिन्न पालिका तथा वडाहरुमा खोप केन्द्र तोकेको छ । धेरै भिडभाड हुन नदिन काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा करिब ५० वटा खोप केन्द्रहरुको व्यवस्था गरिएको छ । ३२ वटा खोप केन्द्रसँगै महाराजगञ्ज मेडिकल क्याम्पसमा समेत खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

चन्द्रागिरी नगरपालिकामा तीनवटा खोप केन्द्र तय गरिएको छ । कीर्तिपुर नगरपालिका, बुढानीलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिकामा दुई–दुई स्थानमा खोप केन्द्र तय गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, शंखरापुर नगरपालिका र दक्षिणकाली नगरपालिकामा भने एक–एक वटा खोप केन्द्र तय गरिएको ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले सार्वजनिक गरेको तालिकाअनुसार काठमाडौंपछि भक्तपुरमा जेठ ४ र ललितपुरमा जेठ ६ गतेबाट भेरोसेलको दोस्रो डोज प्रदान गरिने छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*