वित्तीय विवरणको कसीमा युनियन र सिटिजन लाइफ

दुई कम्पनीको सूचांक कस्तो ? बृद्धिदरमा सिटिजन र व्यवसाय विस्तारमा युनियन लाइफ बलियो
३ जेष्ठ २०७८, सोमबार १३:२५

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी र सिटिजन लाइफ इन्स्योरेन्सले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । दुवै कम्पनी नयाँ हुन् । यस अवधिमा दुई कम्पनीले आफनो अंधिकाश सूचकहरु बढाएको कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणले देखाएको छ । अधिकांश सूचकहरुमा युनियन लाइफले उछिने पनि बृद्धि प्रतिशत लगायतका केही सूचकमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी समेत अब्बल देखिएको छ ।

यस त्रैमासको अवधिमा युनियन लाइफ इन्स्योरेन्स कम्पनी र सिटिजन लाइफ इन्स्योरेन्सको सबै सूचकमा उत्साहजनक प्रगती भएपनि युनियन लाइफ इन्स्योरेनसको नाफा भने घट्न पुगेको छ । युनियन लाइफले तेस्रो त्रैमासको अवधिसम्ममा एक अर्ब ४५ करोडल रुपैयाँ बीमा दाबी भुक्तानी गरेसँगै कम्पनीको मुनाफा घट्न पुगेको तथ्याङ्कले देखाएको छ ।


जीवन बीमा कोेषको आधारमा
जीवन बीमा कोषको आधारमा युनियन लाइफ इन्स्योरेनस कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी भन्दा बलियो देखिएको छ । युनियन लाइफको बीमा कोषमा छ अर्ब ९० करोड रुपैयाँ रकम संचित रहेको छ । गत आर्थिक बर्षको तुलनामा कम्पनीले आफनो जीवन बीमा कोष ८७.२३ प्रतिशतले बढाएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको बीमा कोषमा तीन अर्ब ३८ करोड रुपैयाँ रकम संचित रहेको थियो ।

सिटिजन लाइफको बीमा कोषमा तीन अर्ब एक करोड रुपैयाँ रकम संचित रहेको छ । गत आर्थिक बर्षको तुलनामा कम्पनीले जीवन बीमा कोष १३८ प्रतिशतले बढाएको छ । गत आर्थिक बषको सोहि अवधिमा कम्पनीले बीमा कोषमा १ अर्ब २६ करोड रुपैयाँ रकम संचित गरेको थियो । कोषको आकारमा युनियन लाइफ ठूलो भएपनि कोष बृद्धिदरका आधारमा सिटिजन लाइफ नै बलियो देखिएको छ ।

खुद बीमा शुल्कको आधारमा
युनियन लाइफ इन्स्योरेन्स कम्पनी सिटिजन लाइफ इन्स्योरेनस कम्पनी भन्दा खुद बीमाशुल्क आर्जनमा अगाडि देखिएको छ ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा पाँच अर्ब पाँच करोड ५१ लाख १५ हजार ६२० रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले तीन अर्ब १७ करोड १४ लाख पाँच हजार ४ सय ८० रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । गत आर्थिक बर्षको तुलननमा कम्पनीको खुद बीमाशुल्क आर्जन ५९ प्रतिशतले बृद्धि भएको कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणले देखाएको छ ।

सिटिजन लाइफले चैत मसान्तसमममा दुई अर्ब ४४ करोड १० लाख २६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । खुद बीमा शुल्कको आधारमा युनियन लाइफ नै अगाडि देखिएको छ । अघिल्लो आर्थिक वर्षको समीक्षा अवधीमा कम्पनीले जम्मा एक अर्ब १६ करोड ३५ लाख २२ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ११० प्रतिशतले बढाएको छ । यद्यपि खुद बीमा शुल्क बृद्धि प्रतिशतको आधारमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी पनि कमजोर छैन भन्ने पुष्टि हुन आएको छ ।

खुद मुनाफाको आधारमा
अधिकांश सूचकमा युनियन लाइफ इन्स्योरेन्स कम्पनी नै अघि देखिएपनि खुद मुनाफाको आधारमा सिटिजन लाइफ अघि देखिएको तथ्याङ्कले देखाएको छ ।

तेस्रो त्रैमासको अवधिसम्ममा युनियन लाइफ इन्स्योरेन्सको खुद मुनाफा घटेको छ । गत आवमा आठ करोड ९२ लाख ५९ हजार १८५ रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीले चालु आवको नौ महिनामा आठ करोड २५ लाख नौ हजार ९९७ रुपैयाँ मात्रै मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको तुलनामा ७.५६ प्रतिशतले मुनाफा घटेको देखिएको छ ।

उता, सिटिजन लाइफ युनियन लाइफ भन्दा बढि मुनाफा गर्ने कम्पनीको रुपमा रहेको छ । यस त्रैमासको अवधिसम्ममा सिटिजन लाइफको खुद नाफा १ दशमलव २७ प्रतिशतले बढेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा १४ करोड ५७ लाख ४८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीको मुनाफा १४ करोड ३९ लाख २३ हजार रुपैयाँ थियो । यद्यपी, जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्नको क्रममा हेरफेर हुनसक्नेछ ।

अभिकर्ता कमिशन
युनियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको नौ महिनामा अभिकर्तालाई कमिशन बापत ९६ करोड ४९ लाख ६७ हजार ५३१ रुपैयाँ कमिशन बापत वितरण गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५६.८५ प्रतिशतले बढि हो ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको नौ महिनामा अभिकर्तालाई कमिशन बापत ४५ करोड ७४ लाख ५५ हजार रुपैयाँ कमिशन बापत वितरण गरेको छ । जुन अघिल्लो आवको तुलनामा १०९.१४ प्रतिशतले बढि हो । कम्पनीले अघिल्लो आवमा २१ करोड ८७ लाख ३५ हजार रुपैयाँ अभिकर्तालाई कमिशन बापत वितरण गरेको थियो ।

व्यवस्थापन खर्चका आधारमा
युनियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा ७० करोड ५० लाख ६९ हजार ४ सय १७ रुपैयाँ व्यवस्थापन खर्च गरेको छ । जुन अघिल्लो आवको समीक्षा अवधीको तुलनामा ३२.०४ प्रतिशतले बढि हो ।
त्यस्तै, तेस्रो त्रैमासको अवधिसम्मा सिटिजन लाइफकोे व्यवस्थापन खर्च ५५.५५ प्रतिशतले बृद्धि भएको छ । यस आवमा ४३ करोड ५७ लाख नौ हजार रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष २८ करोड एक लाख १० हजार रुपैयाँ व्यवस्थापन खर्च गरेको थियो ।

कुल दाबी भुक्तानी
युनियन लाइफ इन्स्योरेनसको कुल दावी भुक्तानी रकम भने बृद्धि भएको देखिएको छ । १२५ प्रतिशतले दावी भुक्तानी बृद्धि भएको कम्पनीले एक अर्ब ४५ करोड ९७ लाख ११ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । अघिल्लो आवमा कम्पनीले ६४ करोड ८५ लाख २५ हजार रुपैयाँ दावी भुक्तानी गरेको थियो ।

सिटिजन लाइफ इन्स्योरेन्सको कुल दाबी भुक्तानी गत आर्थिक बर्षको तुलनामा वृद्धि भएको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा ४१ करोड ७१ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ७ करोड २२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*