कोरोनाबाट निधन हुने बीमाकर्मीको संख्या ९ पुग्यो, सञ्चालक, कर्मचारी र अभिकर्ताको निधनले सिंगो बीमा क्षेत्र स्तब्ध

४ जेष्ठ २०७८, मंगलवार १४:३७

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाली बीमा क्षेत्रमा कार्यरत सञ्चालक, कर्मचारी तथा अभिकर्ता गरी नौ जनाको ज्यान गएपछि सिंगो बीमा क्षेत्र स्तब्ध बन्न पुगेको छ । अधिकांश बीमाकर्मीहरु टेलिफोनमा बीमा क्षेत्रका धेरै नै व्यक्तिको निधन भएकोले स्तब्ध भएको गुनासो गर्न थालेका छन् । सामाजिक सञ्जाल, विद्युतीय माध्यमा सहकर्मी, साथीभाइको श्रद्धान्जली पोष्ट गर्ने बीमा कर्मचारीहरु बढिरहेका छन् ।

बीमा पोष्टलाई प्राप्त विवरण अनुसार हालसम्म एक जना सञ्चालक दुई जना कर्मचारी र छ जना बीमा अभिकर्तासहित कूल नौ कोरोनाको कारण निधन भएको छ । नेपाली बीमा जनचेतना फैलाउने तथा बीमितलाई बीमा गर्न प्रोत्साहन गर्ने अभिकर्तादेखि कर्मचारी तथा सञ्चालसम्मको निधनबाट नेपाली बीमा क्षेत्रले ठूलो क्षति व्यहोर्न पुगेको छ ।


राजधानीमै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्वयम्भु शाखाकी प्रमुख कल्पना श्रेष्ठले कोरोनाले चुडेर लगेपछि सबै बीमा कम्पनीहरुमा त्रासदी छाएको छ । त्यसअघि गत शुक्रबार एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बर्दघाट शाखामा कार्यरत बरिष्ठ सहायक महेश ढकालको मृत्यु भएको थियो । श्रेष्ठ नेपाली जीवन बीमा क्षेत्रकी निकै पुरानो र दक्ष कर्मचारी हुन् भने ढकाल बीमा जनचेतना जगाउँन ग्रामिण बस्तीमा पुगिरहने बीमा कर्मचारी हुन् । दुवैको निधनले नेपाली जीवन बीमा क्षेत्रमा ठूलो क्षति पुगेको छ ।


कोरोना महामारीको चपेटामा परेर प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालकको निधन भएको छ । सञ्चालक राजेन्द्र काफ्लेको गत बैशाख २८ गते काठमाडौंमा निधन भएको हो ।

बीमित र बीमक कम्पनीका बीचमा पुलको काम गर्ने बीमा अभिकर्ताहरुमा पनि कोरोना महामारीको निशानामा परेका छन् । हालसम्म छ जना अभिकर्तालाई कोरोनाले चुडिसकेकोछ ।


गत बैशाख २१ गते सानिमा लाइफ इन्स्योरेन्स कम्पनी नेपालगन्ज शाखामा कार्यरत  बिनोद परियारको कोहलपुरमा कोरोना संक्रमणबाट निधन भएको थियो । नेपालगन्जकै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत अभिकर्ता रमिता कुमारी थारुको हिजो निधन भएको छ । यस पटक नेपालगन्जले मात्रै दुई जना बीमा अभिकर्ता गुमाएको छ । त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्सको सल्यान शाखामा कार्यरत बीमा अभिकर्ता मन बहादुर बस्नेतलाई पनि कोरोनाले चुडेर लगिसकेको छ ।


त्यस्तै एलआईसी नेपाल कपिलबस्तुको तौलिहवा शाखामा कार्यरत अभिकर्ता अश्रुद्धिन मुसलमानको बैशाख २६ गते कोरोना भाइरसबाट निधन भएको छ । त्यस्तै एलआईसी नेपालकै जलेश्वर शाखामा कार्यरत अभिकर्ता शिव शंकरको गत बैशाख २४ गते कोरोना भाइरसबाट निधन भएको थियो ।


उता, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी जनकपुर शाखामा कार्यरत बीमा अभिकर्ता इन्द्रदेव कुमार महतोको गत बैशाख १६ गते कोरोनाबाट निधन भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*