कोरोना संक्रमित कर्मचारीको सम्पूर्ण उपचार खर्च नदिने नेपाल लाइफको निर्णय

बीमा समितिको निर्देशन विपरित नेपाल लाईफ मानव संशाधन विभागको सर्कुलर
४ जेष्ठ २०७८, मंगलवार २२:५३

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिको निर्देशनलाई उपेक्षा गर्दै आफ्ना कोभिड संक्रमित कर्मचारीहरुको सम्पूर्ण उपचार खर्च नव्यहोर्न निर्णय गरेको छ । सो कम्पनीको मानव संशाधन विभागले कर्मचारीहरुलाई इमेलमार्फत उपचार खर्चको न्यूनतम् १० देखि अधिकतम २० प्रतिशत मात्रै व्यहोर्न सूचित गरेपछि कर्मचारीहरु त्रस्त बनेका छन् ।

मानव संशाधन विभागकी प्रमुख बन्दना शर्माले कम्पनीका कोभिडका कारण होम आइसोलेशनमा बसेका सिईओ सन्तोष प्रसाई समेतलाई सीसी गरी पठाएको इमेलमा कर्मचारीहरुलाई तीन तहमा विभाजन गरी कूल बिलको १०, १५ र २० प्रतिशत विभेदपूर्ण शैलीमा उपचार खर्च व्यहार्ने जानकारी गराइएको छ । एउटै कम्पनीमा कार्यरत कर्मचारीलाई कोभिड उपचार खर्च फरक फरक प्रतिशत व्यहोर्ने भनिएपछि कर्मचारीमा असन्तुष्टि फैलिएको छ ।

आज साँझ साढे चार बजे सबै कर्मचारीहरुको इमेलमा पठाइएको सन्देशमा उपचार खर्च कम्पनीले सबै व्यहोर्न नसक्ने जानकारी गराइएको एक कर्मचारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा बीमापोष्टलाई जानकारी दिए ।

प्राप्त समाचार अनुसार नेपाल लाइफले कार्यालय सहयोगी र सहायक तहका कर्मचारीलाई कोरोना लागेमा कूल खर्चको २० प्रतिशत मात्रै भुक्तानी गर्ने निर्णय गरेको छ । त्यसैगरी, अधिकृत तहका कर्मचारीहरुको लागि कूल औषधोपचार बिलको १५ प्रतिशत र म्यानेजर तथा सो भन्दा माथिल्लो तहका कर्मचारीको लागि कूल बिलको १० प्रतिशत मात्रै औषधोपचार खर्च दिने निर्णय गरेको छ । रोचक कुरा के छ भने उक्त बिलमा समेत अधिकतम् सीमा तोकिएको जानकारी ‘नोट’ मार्फत गराइएको छ ।
बीमा समितिले क्वारेन्टिलमा बस्दा होटलमा बस्नु परेमा सो को खर्च समेत व्यहोर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको भएपनि नेपाल लाईफले भने होटल खर्र्चको पनि सीमा तोकेको छ ।

त्यस्तै, कुनै पनि कर्मचारीले पिसिआर परिक्षण गर्न जानुअघि सो विभागको अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । बीमा समितिले फिल्डमा खटिएका कर्मचारीलाई कार्यालयमा बोलाउँदा अनिवार्य पिसिआर परिक्षण गराउन भनेपनि नेपाल लाइफले भने पिसिआर परिक्षण गराउन ज्वरो, खोकी जस्ता कोरोनाको संकेतहरु देखिएको हुनुपर्ने मापदण्ड तोकेको छ ।

बीमा समितिले गत शुक्रबार सबै कम्पनीलाई दिएको निर्देशनको विपरित हुने गरी नेपाल लाइफले उपचार खर्च न्यून मात्रै दिने निर्णय गरेको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले गत शुक्रबार अर्थात बैशाख ३१ गते सबै बीमा कम्पनीहरुलाई निर्देशन जारी गर्दै कुनै पनि बीमा कम्पनीका कर्मचारीहरु घर, होटल तथा अस्पतालको सम्पूर्ण खर्च सम्बन्धित बीमा कम्पनीले व्यहोर्न आग्रह गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*