१९ बीमा कम्पनीले उठाएको २४ अर्ब कूल बीमा शुल्कको ५६ प्रतिशत पुनर्बीमा कम्पनीको खातामा

कूल बीमा शुल्कको ४४ प्रतिशत मात्रै बीमा कम्पनीको खातामा, नेपालका निर्जिवन बीमा कम्पनी कुन कति सुरक्षित ?
५ जेष्ठ २०७८, बुधबार ११:४९

काठमाडौं । नेपाल सञ्चालित १९ निर्जिवन बीमा कम्पनीहरुले आर्जन गरेको कूल बीमा शुल्कको ५६ प्रतिशत रकम पुनर्बीमा खर्च गरेका छन् । भारतीय बीमा कम्पनी नेशनल इन्स्योरेन्स कम्पनीको नेपालस्थित शाखा कार्यालयले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशन नगरेकाले सो कम्पनीको विवरण समावेश गरिएको छैन ।

कम्पनीहरुले आफ्नो चुक्ता पुँजिभन्दा बढि भएको व्यवसाय र तोकिएको व्यवसायको पुनर्बीमा गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्था बमोजिम तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार १९ बीमा कम्पनीहरुले २४ अर्ब ९६ लाख एक हजार ५४२ रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । सो मध्ये १३ अर्ब ४२ करोड दुई लाख ६० हजार ९९१ रुपैयाँ पुनर्बीमा कम्पनीलाई बुझाएका छन् । बाँकी रहेको खुद बीमा शुल्क १० अर्ब ५८ करोड ९३ लाख ४० हजार ५५१ रुपैयाँ कम्पनीले प्राप्त गरेका छन् । पुनर्बीमा गर्दा समेत बीमा कम्पनीहरुले जोखिम फरक फरक कम्पनीहरुमा बाँडफाँड गर्नुपर्ने भएकोले सो रकम नेपाल पुनर्बीमा कम्पनी र अन्य विदेशी म्यूनिख री, स्वीस री लगायतका पुनर्बीमा कम्पनीहरुलाई बुझाएका छन् ।

तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार नेपालका बीमा कम्पनीहरुले संकलन गरेको कूल बीमा शुल्कको ४४ प्रतिशत मात्रै आफूले राखेर सोही बमोजिमको जोखिम धारण गरी बीमा व्यवसाय गरेको सम्बन्धित कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरणमा झल्किएको छ ।


विवरण अनुसार सबैभन्दा कम जोखिम लिने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । सो कम्पनीले ८६ प्रतिशत बीमा शुल्क पुनर्बीमा कम्पनीलाई बुझाएर आफू जोखिमबाट बच्न खोजेको देखिएको छ । त्यस्तै, दोस्रोमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी रहेको छ । सो कम्पनीले कूल बीमा शुल्कको ७६ प्रतिशत पुनर्बीमा कम्पनीलाई बुझाएर कम्पनी सुरक्षित बनाएको छ । त्यस्तै, सानिमा जनरल इन्स्योरेन्स कम्पनीले कूल बीमा शुल्कको ७० प्रतिशत पुनर्बीमा कम्पनीलाई बुझाएको छ । त्यस्तै जनरल इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत मात्रै आफूले राखेर ७० प्रतिशत बीमा शुल्क पुनर्बीमा कम्पनीलाई बुझाएको छ । उल्लेखित दुई कम्पनीको चुक्ता पुँजि कम भएको कारणले पनि नीतिगत रुपमा जोखिम धारण गर्न नमिलेका कारण ठूलो रकम पुनर्बीमामा गएको हो ।

नेपालको सबैभन्दा ठूलो शिखर इन्स्योरेन्स कम्पनीले कूल बीमा शुल्कको ६४ प्रतिशत रकम पुनर्बीमा कम्पनीलाई बुझाएर कम्पनीको जोखिम सीमाभित्र राख्ने प्रयास गरेको देखिएको छ । धेरै व्यवसाय गर्ने अर्को सगरमाथाले ५२ प्रतिशत, सिद्धार्थले ६० प्रतिशत र एनएलजी इन्स्योरेन्स कम्पनीले ५० प्रतिशत रकम पुनर्बीमा कम्पनीलाई बुझाएर भविष्यमा पर्न सक्ने ठूला जोखिमबाट सुरक्षित गरेको पाइएको छ ।

वित्तीय विवरण अनुसार कूल बीमा शुल्कको आधारमा तेस्रो ठूलो कम्पनी नेको इन्स्योरेन्स कम्पनीले कूल बीमा शुल्कको ३१ प्रतिशत मात्रै पुनर्बीमा गराएर ठूलो मात्रामा जोखिम आफैले लिन खोजेको देखिएको छ । त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीले पनि ४० प्रतिशत कूल बीमा शुल्क पुनर्बीमा कम्पनीलाई बुझाएको पाइएको छ ।

बीमाको मान्यता अनुसार जति कम पुनर्बीमा गरिएको हुन्छ, उति नै कम्पनीमाथिको जोखिमको भार बढि हुने गर्दछ । समग्रमा नेपालका निर्जिवन बीमा कम्पनीहरुले कूल बीमा व्यवसायको ५६ प्रतिशत पुनर्बीमा गरेर लगानी तथा सर्वसाधारणले बुझाएको बीमा शुल्क सुरक्षित राख्ने कोसिस गरेको हालै प्रकाशित वित्तीय विवरणबाट झल्किएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*