पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन दिने आज अन्तिम दिन, पाँच कम्पनीको फाइल बीमा समितिमा दर्ता

५ जेष्ठ २०७८, बुधबार १३:५८

काठमाडौं । बीमा समितिले निजि क्षेत्रबाट एउटा पुनर्बीमा कम्पनी दर्ता गर्न प्रकाशित सूचना अनुसार नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्सको लागि आवेदन दिने आज अन्तिम दिन हो । आज अपरान्ह ५ बजे (कार्यालय समय) सम्मको समय सीमा तोकिएकोमा जम्मा पाँच वटा कम्पनीको आवेदन परेको बीमा समितिले जनाएको छ ।

गत शुक्रबार एक वटा सोमबार तीन वटा र हिजो मंगलबार अन्नपूर्णा री इन्स्योरेन्सको आवेदन दर्ता भएसँगै कूल पाँच वटा कम्पनी पुनर्बीमा कम्पनीको लाइसेन्स लिने प्रतिस्पर्धामा बीमा समितिमा पुगेका छन् । समितिका अनुसार जेठ ५ गते मध्यान्ह १२ बजेसम्म प्रुडेन्सियल रि, काठमाडौं रि, जेन्युइन रि, अन्नपूर्णा रि र हिमालयन रि गरी कूल पाँच वटा कम्पनीले आवेदन दिएका हुन् ।
बीमा समितिले बैशाख १६ गते सार्वजनिक सूचना प्रकाशित गर्दै एउटा पुनर्बीमा कम्पनीलाई लाइसेन्समा खुला प्रतिस्पर्धाको माध्यमबाट नयाँ कम्पनी दर्ता गर्ने सूचना प्रकाशित गरेको थियो ।

हाल सञ्चालनमा रहेको नेपाल पुनर्बीमा कम्पनीसँग क्रस होल्डिङ नभई आएका कम्पनीहरु मध्येबाट उत्कृष्ट कम्पनी दर्ता गरिने बीमा समितिले प्रकाशन गरेको सूचनामा जनाइएको छ ।

बीमा समितिमा नयाँ अध्यक्ष नियुक्त हुने वित्तिकै सेटिङमा नयाँ बीमा कम्पनी दर्ता गर्ने पुरानो चलनलाई वर्तमान अध्यक्ष सूर्य प्रसाद सिलवालले समेत अनुशरण गरेका छन् । यसअघि अध्यक्षमा नियुक्त भएका चिरञ्जीवी चापागाई अध्यक्षमा नियुक्त भएको छ महिनाभित्रैमा झण्डै एक दर्जन निर्जिवन र जीवन बीमा दर्ता गरेका थिए । वर्तमान अध्यक्ष सिलवालले पनि पहिलो नीतिगत निर्णयका रुपमा पुनर्बीमा कम्पनी दर्ताको लागि अध्ययन कार्यदल बनाउने फाइलमा हस्ताक्षर गरेका थिए ।

अर्थमन्त्रालयसम्मको सेटिङमा हुन लागेको नयाँ पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिने निर्णयले भएको एउटा सरकारी कम्पनी समेत भताभुंग हुने स्थिति देखिएको छ । रोचक कुरा के छ भने यस पटक यसअघिका सेटिङकर्ता नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र एनआरएनका पूर्व अध्यक्ष शेष घलेको जोडी र एनआरएनकै संस्थागत अध्यक्ष उपेन्द्र महतोका बीचमा राजनीतिक पहुँचको कडा टक्कर पर्ने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*