बिटक्वाईनको मूल्यमा ३० प्रतिशतले गिरावट, एकै दिन अर्बौपति सडकमा

६ जेष्ठ २०७८, बिहीबार ०७:५४

काठमाडौं । क्रिप्टो करेन्सी बिट क्वाईनको मूल्यमा ३० प्रतिशतले गिरावट आएपछि यसका कारोबारीहरुले एकै दिनमा अर्बौ डलर गुमाएका छन् ।

आर्थिक कारोबार सम्बन्धी अन्तर्राष्ट्रिय समाचार संस्था ब्लुमबर्गका अनुसार आज बिट क्वाईनको मूल्यमा ३१ प्रतिशतले गिरावट आएको छ । बिट क्वाईन विश्वकै सबैभन्दा ठूलो आकारमा डिजिटल मुद्रा हो ।

केही दिनदेखि क्रिप्टो करेन्सीको मुद्रा घट्ने क्रममा रहेकोमा आज एकै दिन ३० प्रतिशतले मूल्य घटेपछि यसका कारोबारीहरु स्तब्ध बनेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । ब्लुमबर्गले बिट क्वाईनको मूल्यमा आएको गिरावटलाई ‘डुबेको’ संज्ञा दिएको छ । विद्युतीय टेस्लाका सिईओ इलन मस्कले उक्त कम्पनीको विद्युतीय कार बिक्री गर्दा क्रिप्टो करेन्सी स्वीकार नगर्ने घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बजारमा क्रिप्टो करेन्सीको मूल्य घट्न सुरु गरेको थियो ।

बुधबार डिजिटल मुद्राको इतिहासमा कालो दिन भएको भन्दै लगानीकर्ताहरुको रुवाबासी चलेको समाचार संस्थाहरुले जनाएका छन् । वालस्ट्रीट जर्नलले मूल्य घटेका कारण क्रिप्टो करेन्सीका लगानीकर्ताहरु स्तब्ध बनेको उल्लेख गर्दै समाचार सम्प्रेषण गरेकोछ ।

बुधबार बिट क्वाईनसँगै विश्वकै दोस्रो ठूलो क्रिप्टो करेन्सी इथेरेम ४० प्रतिशतले तल झरेको छ । विश्वकै चौथो ठूलो क्रिप्टो करेन्सी कम्पनी बाइनान्सको मूल्य ४९ प्रतिशतले गिरावट आएको छ । त्यस्तै इन्टरनेट कम्प्युटर नामक डिजिटल मुद्राको मूल्यमा ६१ प्रतिशतले गिरावट आएको छ ।

विश्वका दुई ठूला डिजिटल मुद्रामा आएको उच्च गिरावटसँगै विश्व बजारमा हलचल मच्चिएको छ । कही अस्तित्व नभएको डिजिटल मुद्राको कारोबार नेपालले भने बैधानिक मानेको छैन । एसियामा हङकङ, सिंगापुर, दुबई लगायतका देशहरुमा यसको कारोबार हुने गर्दछ । त्यस्तै अमेरिका र युरोपमा क्रिप्टोकरेन्सीहरुको ठूलो कारोबार हुने गर्दछ ।

संसारभर क्रिप्टोकरेन्सीको पुँजिकराण १.५४ ट्रिलियन डलर रहेको छ । पहिल्लो २४ घण्टामा सबै कम्पनीको मूल्यमा २१ प्रतिशतले गिरावट आएको छ । विश्लेषकहरुले क्रिप्टोकरेन्सीको मूल्यमा आएको गिरावटसँगै डिजिटल मुद्राको युग नै अन्त्य हुनसक्ने चेतावनी दिन थालेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*