शेयर मूल्य घट-बढ गराउने कन्टेन्ट मिडियामा लेखेर कमिशन खानेहरुलाई धितोपत्र बोर्डको कडा चेतावनी

धितोपत्र ऐनको दफा १०१ लागू गरे एक लाखसम्म जरिवना र एक वर्ष दुवै हुनसक्छ
६ जेष्ठ २०७८, बिहीबार २३:५२

काठमाडौं । नेपालमा पत्रकारिताको आडमा शेयर माफियासँग मिलेर कमिशन खानेहरुको कमि छैन । शेयर माफियाको इन्ट्रेष्टमा नेप्सेमा सूचिकृत भएका कम्पनीहरुका पक्ष तथा विपक्षमा समाचार तयार पारी बजारमा भ्रमपूर्ण हल्ला गराएर शेयरको मूल्यमा उचार चढाव गर्ने र शेयर माफियासँग शेयर चलखेलबापत प्राप्त लाभ बाँडचुड गर्ने कार्यलाई रोक्न नेपाल धितोपत्र बोर्ड अघि सरेको छ ।

नेपाल धितोपत्र बोर्डले आज प्रेस बक्तव्यमार्फत सामाजिक सञ्जालमा लेखिने स्टाट तथा पुँजि बजार सम्बन्धी समाचारहरु संम्प्रेषित गर्ने अनलाईन तथा अन्य सञ्चार माध्यमहरु समेतलाई अन्तिम चेतावनी दिँदै आगामी दिनमा त्यस्ता मिडिया कन्टेन्टका सम्बन्धमा नेपाल धितोपत्र ऐन २०६३ अनुसारको कारवाही प्रक्रिया अघि बढाइने प्रष्ट पारेको छ ।

नेपाल धितोपत्र ऐनको दफा (९६) र (९७) अनुसारको कसुर गरेको ठहर भएमा दफा १०१ ले बिगो अनुसारको जरिवना तथा कैद सजायको व्यवस्था गरेको छ । सो बमोजिम शेयर मूल्य प्रभावित पार्ने समाचारले लगानीकर्तालाई हानी नोक्सानी भएमा हानी नोक्सानी पुगेको हदसम्म क्षतिपूर्ति भराउने तथा ५० हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्म जरिवना र एक वर्षसम्म कैद सजाय तोकेको धितोपत्र बोर्डले जनाएकोछ ।

बोर्डका एक उच्च अधिकारीले शेयर बजार सम्बन्धी मिडिया कन्टेन्ट तयारी पारी धितोपत्र बजारका खेलाडीसँग मिलेर मिडियाका मालिकहरुले शेयर मूल्यमा प्रभावित पार्दै कमिशन बाँडेर खान थालेपछि बोर्ड कडा एक्सनमा उत्रिएको हो । सञ्चार माध्यमलाई कानुनी दायरामा ल्याउने निकाय प्रेस काउन्सिल भएपनि शेयर बजार सम्बन्धी नियमन गर्ने निकाय बोर्ड भएकोले बोर्ड तोकेको अनुशासनमा नबस्ने सञ्चार माध्यमका विरुद्धमा कानुनी प्रक्रिया अघि बढाउनु लगानीकर्ताको हित रक्षाको दृष्टिबाट कर्तव्र्य भएको जनाएको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा (९६) र (९७) ले कसैलाई धितोपत्र कारोवारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको र सो गरेमा धितोपत्र कारोवार सम्बन्धी कसूर गरेको मानिने व्यवस्था छ । केही समयदेखि विभिन्न अनलाईनहरुले समाचार लेख्ने, मूल्य बढाउने ठेक्का लिने र शेयर चलखेल भएपछि सो गेमप्लान अन्तर्गत प्राप्त आय बाँडचुड गर्ने गरेको गुनासो बोर्डमा आउने गरेको जनाइएको छ । बोर्डले भने धितोपत्र बजारमा स्वतन्त्र मूल्य कायम हुन नदिन अनेकन भ्रम फैलाउने प्रयास भएकोले धितोपत्र ऐनको प्रयोग गरी नियमन गर्न लागिएको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*