१४९ जना सांसदको हस्ताक्षरसहित देउवा शितल निवासमा, आजै प्रधानमन्त्रीमा नियुक्त हुने

अपडेटः नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओली पनि शितल निवासमा पुगेर संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठन गर्ने दावी प्रस्तुत गरेपछि नेपालको राजनीति निकै रोचक मोडमा पुगेको छ । १२१ सांसदको समर्थन भएको नेकपा एमाले र १९ जना सांसदको सार्थन भएको जसपाको अध्यक्षको निर्णय बोकेर शितल निवास पुगेका हुन् । अध्यक्ष ओली शितल निवासमै हुँदै कांग्रेस सभापति देउवा पनि प्रधानमन्त्रीको दावी गर्न पुगेका थिए । देउवा आइपुगेपछि ओली शितल निवासबाट बाहिरिएका छन् ।
……………………………………
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा १४९ जना सांसदको हस्ताक्षरसहित शितल निवास पुगेका छन् । उनलाई आजै राष्ट्रपति विद्या देवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गर्ने जनाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन इन्कार गर्दै पदत्याग गरेपछि राष्ट्रपतिले आज अपरान्ह ५ बजेसम्मको समय सीमा तोकेर गरेको आह्वानपछि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्रीको दावीका लागि हस्ताक्षरसहित शितल निवासमा पुगेका हुन् ।
प्रधानमन्त्रीमा नियुक्तीको लागि १४९ जना सांसदहरुको हस्ताक्षर संकलन गरेको दावी गरेको कांग्रेस–माओवादी केन्द्र गठबन्धनले देउवालाई सरकारको नेतृत्व गरेर पठाउने निर्णय केहीबेर अघि गरेको छ ।
गठबन्धनको निर्णय अनुसार माधव नेपाल समुहका २७ जना सांसदहरुको हस्ताक्षरलाई राष्ट्रपति कार्यालयले स्वीकार गरेमा आजै देउवा प्रधानमन्त्री बन्दैछन् ।
उता, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो बहुमत पुग्ने दावी सहित आजै राष्ट्रपति कार्यालयमा दावी प्रस्तुत गर्ने सम्भावना रहेको छ । केहीबेर अघि बालुवाटारमा पत्रकार समम्मेलन गरेर एमालेका अध्यक्ष समेत रहेको काम चलाउ प्रधानमन्त्री ओलीले आफूसँग १२१ सिट रहेकोले जसपाका सांसदहरुको मत थपेर बहुमत पुर्याउन सक्ने भएकोले दावी गर्ने जानकारी गराएका थिए । त्यस्तो अवस्थामा नयाँ सरकार गठन केही दिन लम्बिन सक्नेछ ।