कोरोना महामारीमा बीमा क्षेत्रले गुमायो दुई दर्जन होनाहार, हालसम्म २१ जना बीमा अभिकर्ताको निधन

१६ जेष्ठ २०७८, आईतवार २१:२५

काठमाडौं । कोरोना महामारीमा नेपाली बीमा क्षेत्रले दुई दर्जनभन्दा बढि होनाहारलाई गुमाउनु परेको छ । अझै कोरोना महामारीको प्रकोप जारी रहेकोले क्षति हुने क्रम जारी छ । हालसम्म प्राप्त तथ्याङ्क अनुसार कोरोनाबाट २६ जना बीमा अभिकर्ता, बीमा कर्मचारी, व्यवस्थापक तथा सञ्चालकको मृत्यु भएको छ ।

बीमापोष्टले तयार पारेको पछिल्लो रिपोर्टमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्रदेश नं २ पोखरिया उपशाखामा कार्यरत एजेन्सी म्यानेजर मन केशर प्रसाद चौरसियाको यही जेठ ५ गते कोरोनाबाट निधन भएको छ । तराई मधेशमा बीमा जनचेतना जगाउने अभियानमा व्यापक रुपमा सक्रिय चौरसिया पेशाले शिक्षक समेत थिए । नेपाल शिक्षक संघ पर्साको कार्य समितिमा रहेर समेत काम गरेको उनले निधनमा पर्साका शिक्षक, विद्यार्थी तथा बीमा अभिकर्ता सहकर्मीहरु मर्माहत बन्न पुगेका छन् ।

कोरोना महामारीले बुटवल र नेपालगन्जमा सबैभन्दा धेरै बीमा अभिकर्ताहरु प्रभावित भएका छन् । सो क्रममा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत अभिकर्ता मनु भण्डारी (लामिछाने) को कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । समाजसेवा, राजनीति तथा बीमा व्यवसायमा सक्रिय भण्डारीको गत शुक्रबार निधन भएको छ । गुलरिया शाखामा कार्यरत भण्डारीको निधनले सो क्षेत्रको बीमा जनचेतना र प्रचार प्रसारमा ठूलो क्षति पुगेको छ ।

उता, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भैरहवा शाखामा कार्यरत एजेन्सी म्यानेजर बाबुराम खनालको यही जेठ ५ गते कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । व्यापार व्यवसायमा समेत आबद्ध खनालको कोरोना भाइरसबाट ग्रस्त भई उपचार हुन नसकेपछि मृत्यु भएको थियो ।

त्यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकै सल्यान शाखामा कार्यरत एजेन्सी म्यानेजर इन्द्र बहादुर खड्काको पनि कोरोना भाइरसको संक्रमणबाट गत बैशाख २१ गते मृत्यु भएको खवर प्राप्त भएको छ ।


नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बुटवल शाखामा कार्यरत यज्ञमूर्ति ज्ञवालीको यही जेठ १ गते निधन भएको जानकारी प्राप्त भएको छ ।
उता, एशिन लाइफ इन्स्योरेन्स कम्पनीमा बिजनेश म्यानेजरमा कार्यरत बहर बहादुर थारुको यही जेठ ८ गते कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । उनी नेपालगन्ज शाखामा कार्यरत थिए । त्यसै एशिन लाइफ इन्स्यारेन्स कम्पनीको नेपालगन्ज शाखामा कार्यरत इन्द्रा रावतको यही जेठ ११ गते कोरोना भाइरसबाट निधन भएको छ । त्यस्तै एशियन लाइफ इन्स्योरेन्सकै सुर्खेत शाखामा कार्यरत केशव शाहीको गत बैशाख २२ गते निधन भएको जानकारी प्राप्त भएको छ ।

यसअघि १३ जना अभिकर्ताको निधन भइसकेको छ । हालसम्म प्राप्त विवरण अनुसार २१ जना जीवन बीमा अभिकर्तालाई कोरोना भाइरसको महामारीले चुडेर लगेका छ । हालसम्म एक जना पूर्व सञ्चालक, एक जना सञ्चालक, तीन जना बीमा कर्मचारी र २१ जना बीमा अभिकर्तासहित कूल २८ जना होनाहारहरुलाई कोरोाना भाइरसले नेपाली बीमा क्षेत्रबाट सदाको लागि खोसेर लगिसकेको छ । कर्मचारी जीवन बीमा सम्बन्धी प्रचार प्रसार गर्ने होनाहारहरुलाई महामारीले सदाको लागि लैजादा समेत आश्रित परिवारका लागि केही गरौं भन्ने भावना बीमा कम्पनी, बीमा समिति र अभिकर्ता संघले कुनै पहल गरेको पछैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*