‘संस्थागत अभिकर्ता विकृतिको मुहान, बीमा पोलिसी टुहुरो हुन्छ’

३१ जेष्ठ २०७८, सोमबार १३:४१

काठमाडौं । बीमा समितिले संस्थागत बीमा अभिकर्तालाई लाइसेन्स लिन पाउने गरी नयाँ निर्देशिका जारी गरेपछि संस्थागत बीमा अभिकर्ताबारे चर्चा र बहस भइरहेको छ । बीमा समितिले बीमाको दायरा फराकिलो पार्दै ३३ प्रतिशतको लक्ष्य भेट्टाउन संस्थागत बीमा अभिकर्ताको लाइसेन्स जुनसुकै संगठित संस्थाले पाउने व्यवस्था जरुरी रहेको हिजो दोहोर्याएको छ भने बीमा अभिकर्ताहरुले भने संस्थागत अभिकर्ता सम्बन्धी व्यवस्था कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बरु सम्झौताहिन आन्दोलन गर्ने चेतावनी दिँदै आएका छन् ।

बीमा बिज्ञहरुले भने बीमा समितिले अघि सारेको संस्थागत बीमा अभिकर्ताको लाइसेन्स सम्बन्धी नयाँ निर्देशिकाले नेपालको बीमा व्यवसायमा धरासायी हुनसक्ने चेतावनी दिएका छन् । बीमा बिज्ञ तथा पोखरा विश्व विद्यालयका उप प्राध्यापक डा. रविन्द्र घिमिरेले कोर बीमा सम्बन्धी काम नगर्ने कम्पनीहरुलाई संस्थागत बीमा अभिकर्ताको लाइसेन्स दिँदा बीमा पोलिसी टुहुरो हुने र त्यसले भयावह अवस्था ल्याउन सक्ने चेतावनी दिए । उनले भने, ‘बीमा सम्बन्धी जनशक्ति र ज्ञान नभएको जुनसुकै कम्पनीलाई बीमा अभिकर्ताको लाइसेन्स दिइयो भने, बीमा पोलिसी बिक्रीपछिको सेवा नपाएर बीमितहरु उल्टै पीडित हुने अवस्था आउन सक्छ ।’ डा. घिमिरेले पोष्ट सेल्स सर्भिस कमजोर भएकै कारण बैंकास्योरेन्स असफल भएको प्रमाण हाम्रै अगाडि रहेको बताउँदै हाल कार्यरत बीमा अभिकर्ताहरुको स्तरोन्नती गर्दै संस्थागत गरेमा नेपाली बीमा व्यवसायमा सुनौलो दिन आउनसक्ने बताए ।

‘बीमा क्षेत्रमा २० वर्षपछि हुने भविष्यको योजना अहिले नै बनाउनुपर्छ । मानौं हामीले नयाँ कम्पनीलाई धमाधम लाइसेन्स दियौं, बीमा व्यवसाय ह्वात्तै बढ्यो । हेर्दा त रााम्रो भयो तर, एक वर्षपछि बैंकास्योरेन्स जस्तै विकृति आए भने, त्यतिबेला अहिले भएका अभिकर्ता छिन्नभिन्न भए भने भोलिका दिनमा यो बीमा क्षेत्र कसले सम्हाल्छ ?’ बीमा बिज्ञ डा. घिमिरले प्रश्न गर्दै भने ।

त्यस्तै महालेखा परिक्षकको कार्यालयमा लामो समय बिताएका बीमित हित संघका अध्यक्ष कृष्ण न्यौपानेले पनि बीमितको पक्षबाट प्राकृतिक व्यक्ति बाहेकका संस्थालाई बीमा अभिकर्ताको लाइसेन्स नदिन माग गरे । उनले भने, ‘कोर बीमा गर्ने कम्पनी बाहेकका जुनसुकै कम्पनीलाई संस्थागत बीमा अभिकर्ताको लाइसेन्स दिनु बीमित हित विरुद्धमा हुन्छ ।’ बीमित हित संघका अध्यक्ष न्यौपानेले बीमा समितिको नयाँ निर्देशिका दोहोरो अर्थ लाग्ने भएको बताउँदै जुनसकै कम्पनीलाई बीमा अभिकर्ताको लाइसेन्स दिएमा त्यसले विकराल रुप ल्याउने बताउँदै यस्ता गलत कदम सच्याउनु पर्ने धारणा राखे । अध्यक्ष न्यौपानेले संस्थागत बीमा अभिकर्ता विकृतिको मुहान भएको बताउँदै बीमा समिति बैंकास्योरेन्सबाट सचेत हुँदै बीमितको हित रक्षाका लागि प्रतिबद्ध हुनुपर्ने बताए ।

बीमा क्षेत्रका लामो समय योगदान दिएका धेरै पुराना बीमाकर्मीहरुले संस्थागत बीमा अभिकर्ताको नाममा कमिशनका लागि जस्तोसुकै हर्कत र हुने र यसले बीमाको आधारभूत मूल्य मान्यता र बीमाप्रति सर्वसाधारणको विश्वास गुमेर बीमा व्यवसाय नै धरासायी हुने धेरै उदाहरणहरु अघि सारेका छन् ।

बीमा समितिका सल्लाहकार भोजराज शर्माले संस्थागत अभिकर्ता सम्बन्धी व्यवस्था पुरानै भएकोले नयाँ विषय नभए पनि आफूसँग परामर्श नगरिएकोले के के व्यवस्था छ भन्ने थाहा नभएको बताए । उनले संस्थागत बीमा अभिकर्ता जथाभावी खोल्दा बीमा बजारमा विकृति आउन सक्ने तथ्य स्वीकार गर्दै भने, ‘कोभिडका कारण म घरमै छु, संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका जार िभएको चाही सुनेको छु, अध्ययन गरेको छैन, दुई।तीन दिनमा कार्यालय गएर अध्ययन गरेपछि यसबारे ठोस धारणा दिनसक्छु ।’

One thought on “‘संस्थागत अभिकर्ता विकृतिको मुहान, बीमा पोलिसी टुहुरो हुन्छ’

  1. ऋषिराम भूसाल says:

    बैकिंङ बीमा वा संस्थागत बीमाको प्रयोग नौलो बिषय होइन ।यो बिगतको असफल सिद्ध प्रयोगलाई किन बारबार फर्काउन खोजिन्छ ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*