बीमा के हो ? के छन् यसका फाईदाहरु

मनिष सोती
२३ श्रावण २०७८, शनिबार १०:२०

बीमा बुझ्नुभन्दा पहिले जोखिम के हो भनेर बुझ्नु जरुरी हुन्छ । जोखिम भनेको कुनै पनि भौतिक सम्पत्ति वा मानिसको जीवनमा आईपर्न सक्ने सम्भावित क्षति हो । प्राकृतिक प्रकोप वा अन्य कारणबाट पुग्नसक्ने सम्भावित क्षतिलाई जोखिम भनिन्छ । भविष्यमा हुनसक्ने क्षति नै जोखिम हो । बीमा भनेको त्यही जोखिम हस्तान्तरण गर्ने एउटा विधि हो । तर, जोखिम सुनिश्चित भएको कुनै पनि चीजको बीमा गर्नु बीमाको सिद्धान्त विपरित हुन्छ । त्यसैले बीमा भनेको जोखिम व्यवस्थापनको एक महत्वपूर्ण औजार हो ।

बीमा रक्षावरण गर्ने निश्चित विधि हुन्छ । बीमा भन्ने वित्तिकै बजारमा किन्ने चीज होइन । बीमा एक प्रकारको करारमार्फत जोखिम रक्षावरण गर्ने विधि हो । बीमा कम्पनी र जोखिम रक्षावरण गर्न चाहने (बीमित) का बीचमा करार भई बीमा बीमितहरुले आफनो सुरक्षणको लागि गर्ने एक महत्वपूर्ण करार गर्नु नै बीमा हो ।

बीमितहरुलले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्नु नै बीमा हो । मानवीय समाजमा विपत्ति, जोखिमका अनेकौँ सम्भावनाहरु हुन्छन् । जुन विपत्ति, जोखिम अहिले, आज, भरे, भोलि जतिखेर पनि हुनसक्छ । सम्पत्ति, भौतिक वस्तुको सुरक्षित होस् भनेर त्यसमा उत्पन्न हुने सम्पूर्ण जोखिमहरु हस्तान्तरण गर्ने सम्बन्धी सम्पूर्ण कार्य तथा प्रक्रिया र विधि नै बीमा हो।

अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्न उपयुक्त माध्यम भएकोले विश्वभर नै बीमाको लोकप्रियता दिन प्रतिदिन बढिरहेको छ । नेपालमै पछि पाँच वर्षअघिसम्म बीमाको पहुँच सारै न्यून थियो भने अहिले उक्त बीमाको पहुँच बृद्धि भई २७ प्रतिशत पुगिसकेको छ । अनिश्चित जोखिम, दुघर्टनाले ग्रसित भएका व्यक्ति वा संस्थाले आफ्नो जोखिम अनुरुप निश्चित बीमा शुल्क बुझाई घटना भएमा क्षतिपूर्ति प्राप्त गर्ने शर्त सहितका करार अन्तर्गत बीमा योजना खरिद गर्न सक्छन् । बीमा दुई पक्ष बीचमा हुने लिखित सम्झौता (करार) पनि हो । बीमा गर्दा बीमा कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा गरिने सम्झौता भएकोले करार बमोजिम जोखिम हस्तान्तरण गरिएको हुन्छ ।

बीमा निश्चित अवधिका लागि गरिन्छ । उक्त अवधिमा बीमितको क्षति भएको कम्पनीले क्षतिपूर्ति भुक्तानी गर्छन् ।बीमाको सुरुवात बीमक कम्पनीबाट हुने गर्दछ । यस प्रक्रियाको प्रारम्भ बीमाको प्रस्ताव फारम तथा व्यक्तिगत स्वास्थ्य सम्बन्धी विवरणबाट हुन्छ । यस्ता फारमहरु बीमितले सम्बन्धित बीमा कम्पनीहरुबाट लिनुपर्छ । ती फारमहरु बीमा गर्ने व्यक्ति स्वम्ले बीमा अभिकर्ता तथा सोझै बीमक कम्पनीमार्फत पेस गर्न सक्नेछन् ।

यसरी बीमितले भरेको फारमको प्रस्तावलाई स्वीकार गर्ने नगर्ने भन्ने कुरा बीमक मै भर पर्दछ । यदि बीमितको प्रस्ताव स्वीकार भएमा बीमा शुल्क भुक्तानी गरेपछि बीमा प्रक्रिया प्रारम्भ हुन्छ अर्थात जोखिम बहन सुरु हुन्छ । बीमा सम्वन्धि शर्त, सुविधा सहितका सम्पूर्ण कागजातहरु बीमा कम्पनीले बीमितलाई बीमा स्वीकार भए पछि प्रदान गर्दछ । यसलाई बिमालेख भनिन्छ । बीमा मुख्य रुपमा दुई प्रकारको हुन्छ । जीवन बीमा र निर्जिवन बीमा ।

जीवन बीमा
मानिसको जीवनसँग सम्बिन्धित जोखिमको बिरुद्ध गरिने बीमालाई जीवन बीमा भनिन्छ । जीवन बीमाले विपत्ति परेको खण्डमा आर्थिक रुपले सुरक्षण प्रदान गर्दछ । मानिसको शरीरको कुनै सुनिश्चितता हुँदैन । जीवित मानिस मृत्यु भइहालेको अवस्थामा बीमाले मृत मानिसलाई पुनर्जीवन त दिन सक्दैन तर निज मृतक व्यक्तिमा आश्रित परिवारलाई भने आर्थिक सुरक्षण प्रदान गर्दै निज जीवित हुँदा गरेको बचतको आधार र निजको बीमा गराएको बीमाङ्क रकमको आधारमा क्षतिपूर्ति दिई बीमितका आश्रित परिवारको भविष्य सुनिश्चत गर्दछ ।

जीवन बीमाको महत्वपूर्ण पक्ष भनेको बचत हो । भविष्यमा आईपर्नसक्ने विभिन्न ठूलो खर्चहरुका लागि बीमाले ठूलो योगदान गरेको हुन्छ । युवा अवस्थामा गरेको आम्दानीको जीवनको उत्तराद्र्धमा अमृत झै उपयोगी हुन्छन् भने सन्तानको शिक्षा दिक्षामा समेत यो निकै उपयोगी हुनेछ । साथै बुढसकालको साहार विहिन अवस्थामा आर्थिक रुपमा सम्पन्न हुँदा पाइने मान, सम्मान र इज्जत समेतका कारण जीवन बीमा मानव जीवनका लागि निकै महत्वपूर्ण छ । जीवन बीमाको सिद्धान्त अनुसार निश्चित अवधी सकिएपछि एकमुष्ठ बचत रकममा बोनस समेत थपिएर आउने हुँदा ठूला ठूला काममा सफलता पाइने हुँदा मानिसको जीवन सार्थक र सफल बनाउन जीवन बीमाले ठूलो भूमिका निर्वाह गरिरहेको हुन्छ ।

मानवीय जीवनमा जीवन बीमाको निकै ठुलो महत्व रहेको छ । जीवन बीमाले आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिनुका साथै पुजी निमार्ण, करमा छुट जस्ता महत्वपूर्ण फाईदाहरु प्रदान गर्छ । अहिले नेपालको प्रचलित कानुन बमोजिम बार्षिक २५ हजार रुपैयाँसम्मको करयोग्य आयमा आयकर छुट पाउने व्यवस्था छ । त्यसैले जीवन बिमा अनिवार्य बचत एंव आश्रितहरुको भलाईको व्यवस्था हुने उत्तम उपाय पनि हो ।

जीवन बीमामा आजिवन जीवन बीमा, सावधिक जीवन बीमा, म्यादी बीमा, एन्युटी (पेन्सन) बीमा, एकल बीमाहरु पर्दछन् । म्यादी जीवन बीमा बाहेकका बीमा पोलिसीहरु बचत प्रकारका जीवन बीमाहरु हुन् भने म्यादी जीवन बीमा जोखिम मात्रै बहन गर्ने न्यून बीमाशुल्क भएको बीमा योजना हो ।

निर्जीवन बीमा

निर्जीवन बीमा निश्चित अविधिको लागि गरिने एक सम्झौता पत्र हो । यसमा बीमा गर्ने कम्पनि र बीमा गर्ने व्यक्तिका बीच सम्झौता हुन्छ । यस्तो सम्झौतालाई करार भनिन्छ ।

करार गर्दा तोकिएको निश्चित अविधिमा बीमा गरिएको सम्पत्तिको वा व्यक्तिको मृत्यु वा अंगभंग भएमा बीमाकंको परिधिमा रही वास्तविक रुपमा कति हानि नोक्सानि भएको हो, त्यसको आधारमा बीमा कम्पनिले सम्बन्धित पक्षलाई क्षतिपूर्तिका रुपमा भुक्तानी गर्छ ।

निर्जिवन बीमा सम्पत्तिको हानी नोक्सानी र दायित्वको जोखिमबाट मुक्त हुनका लागि गरिने करार हो । निर्जिवन शब्दले सम्पत्ति र दायित्व सम्बन्धि विषयलाई बोध गराएता पनि यसले मानव जीवनको केही अंशलाई भने समेटेकै हुन्छ नै । जीवन बाहेक चल अचल सम्पत्ति सँग सम्बन्धित बीमा यस अन्र्तगत पर्छन् ।

2 thoughts on “बीमा के हो ? के छन् यसका फाईदाहरु

  1. Ram karki says:

    नेपालमा बीमा भनेको ठगने बैधानिक बीमा समिती बाट लाइसेन्स प्राप्त सस्था हो,सगरमाथा इन्स्योरेन्स ले आगो लागि भएको तीन बर्ष सम्मा पनि भुक्तानी दियको छैन !!समिति ले रमित मात्रै हेरेरा बस्ने रहेछ!!

  2. सफल घलान says:

    जीवन बिमा अति मह्त्वपुन छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*