नेपाल इन्स्योरेन्स कम्पनीको नाफा ह्वात्तै बढ्यो, ७१ करोडको बीमा शुल्क, ३४ करोड मुनाफा

३२ श्रावण २०७८, सोमबार ०७:३७

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको मुनाफा ह्वात्तै बृद्धि भएको छ । कोरोना महामारीमा औसत व्यवसाय गरेको कम्पनीको व्यवस्थापन खर्च घटेको तथा लगानी, कर्जा तथा अन्यबाट प्राप्त हुने आय १२ करोड भन्दा बढिले बृद्धि हुँदा मुनाफा ह्वात्तै उचालिएको हो । अघिल्लो आवमा जम्मा २६ करोड २२ लाख ५१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीले गत आवमा ३२.९९ प्रतिशतले बृद्धि गरी ३४ करोड ८७ लाख ७८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

आज प्रकाशित गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा बृद्धि भएसँगै प्रतिशेयर आम्दानी समेत ह्वात्तै बृद्धि भई २८.०७ रुपैयाँ पुगेको छ । नेपाल इन्स्योरेन्स नेपालकै पहिलो बीमा कम्पनी हो । सो कम्पनीको पिई अनुपात ३६.४, प्रतिशेयर नेटवर्थ १८१.८१ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३३६.६५ रुपैयाँ रहेको छ ।

आज प्रकाशित वित्तीय विवरण अनुसार नेपाल इन्स्योरेन्स कम्पनीको बीमा कोष ४१.१४ प्रतिशतले बृद्धि भई ५९ करोड ५७ लाख ३१ हजार पुगेको छ । नेपालको सबैभन्दा पुरानो कम्पनी भएर पनि बीमा कोषको आकार भने ठूलो छैन । कम्पनीले महाविपत्ति कोषको व्यवस्था गरेको छैन । बीमा समितिको नियम अनुसार तीन वर्षदेखि मुनाफाको १० प्रतिशत महाविपत्ति कोषमा राख्नुपर्ने व्यवस्था भएपनि आज प्रकाशित वित्तीय विवरण अनुसार महाविपत्ति कोषको व्यवस्था गरिएको देखिएको छैन ।

 

कम्पनीले जगेडा कोषमा ४२ करोड छ लाख रुपैयाँ संचिती गरेको छ । अघिल्लो आवमा कम्पनीको जगेडा कोषमा ३९ करोड रुपैयाँ संचिती थियो । कम्पनीको कूल कोषको आकार २४.१७ अंकले बृद्धि भइ एक अर्ब एक करोड ६३ लाख ३१ हजार रुपैयाँ पुगेको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीले खुद बीमा शुल्क ६.७० प्रतिशतले बृद्धि गरी ७१ करोड ४२ लाख सात हजार रुपैयाँ छ । अघिल्लो आवमा जम्मा ६६ करोड ९३ लाख रुपैयाँ थियो । त्यस्तै, कम्पनीको खुद बीमा शुल्क भुक्तानी २६.९२ प्रतिशतले बृद्धि भइ १७ करोड १८ लाखबाट बढेर २१ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको लगानी, कर्जाबाट प्राप्त आय ६८.२६ प्रतिशतले बृद्धि भएको छ । सो अवधीमा कम्पनीले ३० करोड ९८ लाख सात हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा यस्तो आम्दानी जम्मा १८ करोड ४१ लाख २५ हजार रुपैयाँ थियो ।

कम्पनीको व्यवस्थापन खर्च लगभगस्थिर छ । अघिल्लो आवमा २४ करोड ७१ लाख ८४ हजार रुपैयाँ खर्च गरेको कम्पनीले गत आवमा २४ करोड ७९ लाख ३८ हजार रुपैयाँ खर्च गरेको छ । कम्पनीले समीक्षा अवधीमा एक अर्ब २७ करोड ५७ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेकोमा ६० करोड सात लाख ४२ हजार रुपैयाँ कूल दावी भुक्तानी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*