अफगानिस्तानमा देखियो यस्तो दुर्लभ दृष्यः उडिरहेको जहाजबाट यात्रु झरे, धावनमार्गमा गुडिरहेको जहाजलाई हजारौंले घेरे

१ भाद्र २०७८, मंगलवार ०७:०४

काठमाडौं । दक्षिण एसियाली मुलुक अफगानिस्तानको काबुल विमानस्थलमा विश्वमा शायदै देखिने दुर्लभ दृष्य देखिएको छ । जहाँ उडिरहेको जहाजबाट यात्रुहरु चरा झै झरेर मरेका छन् भने धावनमार्गमा गुडिरहेको जहाजलाई हजारौंले डोर्याउदै लगेर जहाजमाथि चढेका छन् ।

राज्य विहिन, प्रशासन विहिनताको अवस्थामा काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका दृष्यहरुले यतिबेला विश्वभरका मानव समुदाय स्तब्ध बन्न पुगेका छन् । अफगानिस्तान छोडेर भाग्न चाहने हजारौं मानिसले काबुलस्थित विमानस्थल भरिएको छ भने त्यहाँको व्यवस्थापन गर्न नसक्दा उडान र अवतरण प्रभावित भएको छ ।

अमेरिकामा युद्ध हारेर भाग्दै गरेको अमेरिकाले विमानस्थल नियन्त्रणमा लिएर आफ्ना नागरिक त्यहाँबाट भगाउँदै गर्दा हिजो अपरान्हदेखि विमानस्थलमा प्रवेश गरेका हजारौं मानिसहरुले जहाज नियन्त्रणमा लिएर आफै जहाजमाथि चढेका थिए । सोही क्रममा अमेरिकी एयरफोर्सको जहाजको पाङ्ग्राबाट भित्र घुसेका तीन जना अफगानी नागरिक धावनमार्गबाट जहाज उडेको केहीबेरमा आकाशबाट तलतिर झरेका थिए ।

डेलीमेलका अनुसार त्यसरी झरेका तीनै जनाको मृत्यु भएको छ । दि गार्जियनले सार्वजनिक गरेको भिडियोमा अमेरिकी एयरफोर्सको जहाज धावनमार्गमा हजारौं अफगानी नागरिक सँगसँगै दौडिरहेको दृष्य देखिएको छ । विश्वको कुनै पनि विमानस्थलमा शायदै देखिने दृष्य हिजो देखिएको छ ।

हाल अमेरिकी सेनाको बाँकी रहेको अन्तिम २५०० सेनाले विमानस्थल नियन्त्रणमा लिने प्रयास जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम सिएनएनले जनाएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति जोई बाइडेनले अमेरिकी सेना र विमानस्थलमा जम्मा भएका अफगानी नागरिकको उद्धार नहुन्जेल अमेरिकी सेनाको अन्तिम डफ्फाले काबुल नछोड्ने घोषणा गरेका छन् । आज विहानै राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले विगतमा अमेरिकी सेना तथा गठबन्धन सेनालाई सहयोग गरेका अफगानी जनतालाई समेत उद्धार गर्ने घोषणा गरेका छन् ।

२० खर्ब डलरभन्दा बढिको विनास, २० वर्षसम्मको पराजयपछि गत महिना अफगानिस्तानबाट अमेरिकी सेना फर्कने निर्णय गरिएको थियो । अमेरिकी पूर्ण रुपमा फर्कन नपाउँदै २२ दिन लामो संघर्षपछि तालिवानी लडाकुहरुले अन्ततः अफगानिस्तानमा हिजोबाट आफ्नो नियन्त्रणमा लिन सफल भएका छन् ।

त्यहाँका राष्ट्रपति असरफ घानी सहितका उच्च सरकारी अधिकारीले सत्ता छोडेर भागिसकेका छन् । अफगानी संसद र राष्ट्रपति भवनमा विद्रोही तालिवानीहरुले कब्जा जमाएर सत्ता हस्तान्तरणको प्रक्रिया र नयाँ सरकार गठनको काम भइरहेको छ ।

यही संक्रमणकालिन अवस्थामा काबुल विमानस्थललाई नियन्त्रणमा लिएर अमेरिकी सेनाले सैन्य उडानमार्फत आफ्ना नागरिकलाई स्वदेश फर्काउन खोजिरहेको छ । अमेरिकी सैन्य जहाजले आफ्ना नागरिकलाई मात्रै ओसार्न थालेपछि आक्रोसित अफगानी जनता विमानस्थलभित्र छिरेर धावनमार्गमा गुडिरहेको जहाजलाई रोकेर एउटै जहाजमा ६४० जना छिरेर अन्यत्र लैजान माग गरेका थिए । अन्ततः अमेरिकाले आज विहान ति नागरिकहरु भरिएको जहाज उडान भरेर कतार पुर्याएको जनाइएको छ ।

अफगानिस्तानमा सयौं नेपाली काम गरिरहेको र उनीहरु सुरक्षित भएपनि उद्धार कहिले हुन्छ भन्ने सम्बन्धमा कुनै निश्चित छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*