दोस्रो बालुवाटार काण्ड बन्दै हिमालयन रिलाई पुनर्बीमा लाइसेन्स

पूर्वअर्थमन्त्री विष्णु पौडेल र भाटभटेनीका मिनबहादुर गुरुङको भित्री कनेक्सन !
८ भाद्र २०७८, मंगलवार १४:३४

काठमाडौं । हिमालयन रिलाई बीमा समितिले लाइसेन्स दिने सम्बन्धमा गरेको निर्णय दोस्रो बालुवाटार काण्ड बन्ने भएको छ । बहुसंख्यक र उच्च राजनीतिक नेतृत्वको संलग्नताको कारण हिमालयन रि काण्डले बालुवाटार काण्डजस्तै थुप्रैको पद, प्रतिष्ठा र मान सम्मान बन्धकी राख्ने देखिएको छ । आज प्रकाशित आर्थिक दैनिकले गरेको खुलासा अनुसार हिमालयन रि नामक पुनर्बीमा कम्पनीलाई लाइसेन्स लिने दिने काममा इतिहासकै चर्चित काण्ड बालुवाटारसँग कनेक्सन भेटिएको छ ।

‘नेपालको इतिहासकै सबैभन्दा ठूलो आर्थिक घोटाला काण्ड भनेर चिनिएको राजधानीको मुटुको १३६ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरिएको सो काण्डमा अख्तियारले १७५ जनामाथि मुद्दा चलाएको थियो । अहिले यस्तै एउटा घटना ओली सरकारको पतन र नयाँ सरकार गठनको मौका पारेर घटाइएको छ । आर्थिक दैनिकले गरेको खोजमा बालुवाटार जग्गा काण्डसँग हिमालयन रि नामक पुनर्बीमा कम्पनीको लाइसेन्स काण्डमा कनेक्सन भेटिएको छ’ आज प्रकाशित आर्थिक दैनिकमा उल्लेख छ ।

सो दैनिक पत्रिकाले अर्थमन्त्री विष्णु पौडेलको बालुवाटार काण्डमा जस्तै हिमालयन रि पनि सेटिङ गरेको दावी गर्दैै भनिएको छ, ‘बालुवाटारमा भइरहेको ठूलो सेटिङमा छोरा नविन पौडेलको नाममा सित्तैमा जग्गा पाएका पौडेलले हिमालय रिको लाइसेन्स काण्डमा पनि ठूलो रकम हात पारेको सूत्रहरुले दावी गरेका छन् । यद्यपि बालुवाटारमा लिएको जग्गा भने अख्तियारको कारवाहीबाट बच्न छानविन सुरु भएपछि नै फिर्ता गर्ने कागजमा हस्ताक्षर गरेका कारण उनको हातबाट फुत्किसकेको छ ।’

बालुवाटार जग्गा काण्डमा मतियार मध्येका एक नविन पौडेलका बुवा विष्णु पौडेल ‘हिमालयन रिको लाइसेन्स घोटला काण्ड’ हुँदा अर्थमन्त्रीका रुपमा कार्यरत थिए । उनै अर्थमन्त्री पौडेलको मुख्य निर्देशन र संलग्नतामा भएको हिमालयन रि काण्डमा भएको तीन अर्ब भन्दा बढि रकम घोटालामा बालुवाटार जग्गा काण्डमा केही मतियारहरु समेत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएको पाइएको दावी समाचारमा गरिएको छ ।

साथै समाचारमा हिमालयन रि काण्डमा बालुवाटार जग्गा काण्डका मुख्य योजनाकार मध्येका एक मिन बहादुर गुरुङ धेरैतिरबाट जेलिएको दावी गरिएको छ । मिन बहादुर गुरुङको काठमाडौं स्टील्समा सिईओको रुपमा काम गरेका किरण कुमार श्रेष्ठ हिमालयन रिमा प्रत्यक्ष संलग्नता देखिएको छ । उनी हाल राष्ट्रिय बाणिज्य बैंकमा सिईओमा कार्यरत छन् । उनलाई विष्णु पौडेलले बालुवाटार काण्डको कनेक्सन अनुसार तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडामार्फत राष्ट्रिय बाणिज्य बैंकको सिईओ र बीमा समितिको सञ्चालक बनाएका थिए । श्रेष्ठ बीमा समितिका बहालवाला सञ्चालक हुन् भने उनी सिईओ रहेको राष्ट्रिय बाणिज्य बैंकले समेत हिमालयन रि मा ५० करोड रुपैयाँको शेयर लगानी गरेको दावी गरिएको छ ।

‘श्रेष्ठ बालुवाटार काण्ड र हिमालयन रि काण्डमा पहिलो र प्रत्यक्ष कनेक्सन हुने पात्र हुन् । अर्को कनेक्सन बालुवाटारमा मुछिएका गुरुङको नाता पर्ने लालकाजी गुरुङकी छोरी जुनी गुरुङको नाममा हिमालयन रिमा शेयर रहेको पाइएको छ । लालकाजी गुरुङ सिभिल मलका मालिक (हिस्सेदार) समेत हुन् ।

बंशल थरका मारवाडी व्यापारी बालुवाटार काण्ड र हिमालय रि दुवै काण्डमा संलग्न देखिएका छन् । विष्णु पौडेलले रुपन्देहीका प्रकाश पौडेललाई समेत हिमालयन रिमा २० करोडको शेयर दिलाएका छन् ।

बालुवाटार काण्डमा अप्रत्यक्ष रुपमा संलग्न प्रेम प्रभात गुरुङको नाममा पनि हिमालयन रि मा शेयर लगानी रहेको छ । ताराजेभी इन्भेष्टमेन्ट कम्पनीको नाममा तीन करोड र प्रभात गुरुङ एण्ड कम्पनीको नाममा तीन करोड रुपैयाँ गरी कूल छ करोड रुपैयाँको शेयर हिमालयन रि मा लगानी भेटिएको छ । गुरुङ उल्लेखित दुई घोटाला काण्डलाई कनेक्सन गर्ने तेस्रो पात्र हुन् ।

यसअघि चन्द्र ढकालको सेटिङमा नौ वटा जीवन बीमा कम्पनी र ३ वटा निर्जिवन बीमा गरी कूल १२ वटा बीमा कम्पनी दर्ता गर्दा घुस रकम लिन प्रयोग भएका घरजग्गा व्यवसायी कालु गुरुङको समेत हिमालयन रिमा अप्रत्यक्ष संलग्न रहेको भेटिएको छ । कालु गुरुङले यस पटक पनि विगतको जस्तै घुस रकम जम्मा गरेर राजनीतिक नेतृत्वलाई बाँडफाँड गरेको स्रोतले दावी गरेपनि आर्थिक दैनिकले स्वतन्त्र रुपमा पुष्टि गर्न बाँकी छ ।

तीन अर्बभन्दा बढि रकम संस्थापक शेयर धनीहरुबाट ‘अतिरिक्त लागत खर्च’ को रुपमा उठाएर अर्थमन्त्री विष्णु पौडेल, अर्थमन्त्रालयका सचिव शिशिर ढुंगाना, सहसचिवहरु झक्क प्रसाद आचार्य, कानुन मन्त्रालयका सह सचिव फणिन्द्र गौतम, ओली एण्ड एशोसियट्सका वकिल कपिलदेव ओली, राष्ट्रिय बाणिज्य बैंकका किरण कुमार श्रेष्ठ तथा बीमा समितिका अध्यक्ष तथा अन्य कर्मचारीहरुलाई बाँडफाँड गरी थर्मल गन तस्करीमा संलग्न सुलभ अग्रवाल तथा उनका एकाघरका दाजु शाहिल अग्रवाल, धनगढीका दीपक भट्ट लगायतका १०६ वटा कम्पनी तथा व्यक्तिहरुले मिलेर हिमालयन रि नामक कम्पनी संस्थापना गरी पुनर्बीमाको लाईसेन्स लिएका हुन् । सो काण्डमा मिडियालाई सेटिङ गर्न भन्दै नेपालको सबैभन्दा ठूलो मिडिया हाउसका मालिकको नाममा १० करोड रुपैयाँको गोल्डेन (सित्तैमा पाइने) शेयर दिएको समेत भेटिएको छ । पुनर्बीमाको लाइसेन्स पाउने भएपछि बाहिर प्रभाव देखाउन नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेयर गोल्छा, निवर्तमान अध्यक्ष भवानी राणा, पूर्व अध्यक्ष पशुपति मुरारकालाई समेत शेयर दिएर कम्पनीलाई बलियो बनाउने प्रयास गरेको पाइएको छ ।

अर्बौ रकम घोटाला गरिएको हिमालय रि काण्डको दवाव थेग्न सहज होस् भनेर गोल्छालाई अध्यक्ष बनाइएको छ । गोल्छाको नामका शरद गोल्छासहित गरी कूल २५ करोड रुपैयाँको शेयर छ । त्यस्तै भवानी मिश्र राणाको एक करोड रुपैयाँको शेयर छ ।’ आज प्रकाशित आर्थिक दैनिकमा उल्लेख छ ।

आर्थिक दैनिकको समाचार पढ्न यता हेर्नु होला ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*