तालिम नै नलिई बीमा अभिकर्ताको लाइसेन्स ! कोभिड बन्यो विकृतिको कारक

२७ भाद्र २०७८, आईतवार ०९:४०

काठमाडौं । कोभिडका कारण अनलाईन तथा भर्चुअल माध्यमबाट बीमा अभिकर्ताको तालिम लिने पाइने भएपछि बीमा अभिकर्ताको लाइसेन्समा विकृति बढ्दै गएको छ । बीमा कम्पनीहरुले तालिम नै नलिएका व्यक्तिलाई बीमा अभिकर्ताको लाइसेन्स लिन सिफारिस दिने गरेका कारण विकृति बढेको हो ।

राजधानीभित्रका बीमा अभिकर्ताहरुको तालिम इन्स्योरेन्स इन्टिच्यूटमा सञ्चालन गर्नुपर्ने गरी कडाई भएपछि राजधानी बाहिरबाट बीमा अभिकर्ताको कोड निकाल्ने क्रम बढेको छ । बीमा क्षेत्रका भुक्तभोगीहरुका अनुसार बीमा कम्पनीहरुले अभिकर्तालाई २४ घण्टाभित्रैमा बीमा अभिकर्ताको लाइसेन्स दिने गरेका छन् ।

बीमा ऐनमा बीमा अभिकर्ताको लाइसेन्स लिनको लागि कम्तीमा १६ घण्टे कोर्स अनिवार्य रुपमा पूरा गर्नुपर्दछ । तर, बीमा कम्पनीहरुले २४ घण्टाभित्रैमा बीमा अभिकर्ताको लाइसेन्स निकाल्ने गरेका कारण बीमा क्षेत्रमा विकृति मौलाइरहेको स्वयम् बीमा अभिकर्ताहरु स्वीकार गर्दछन् ।

बीमा समिति फेसिलेटर मात्रै भएकोले बीमा कम्पनीहरुले तालिम सम्पन्न गरेको भनि कीर्ते कागजात बनाएर बीमा समितिमा आवेदन दिने गरेका छन् । बीमा समितिले कम्पनीहरुले प्रक्रिया पुरा गरेर आएका सबैलाई बीमा अभिकर्ताको लाइसेन्स दिँदै आएको छ । पछिल्लो पटक बीमा अभिकर्ताको लाइसेन्स सम्बन्धी सम्पूर्ण कार्य सम्बन्धित बीमा कम्पनीलाई नै जिम्मेवारी दिइएको छ । बीमा अभिकर्तालाई तालिम दिई तथा कागजात तयार पारी लाइसेन्सको लागि आवेदन दिने जिम्मेवारी बीमा कम्पनीलाई नै तोकिएका कारण विकृति बढेको हो ।

पछिल्लो समय कोभिडका कारण अनलाइनबाट तालिम लिने र अनलाइनबाटै बीमा अभिकर्ताको लाइसेन्स सम्बन्धी प्रक्रिया पूरा हुने हुँदा बीमा समितिमा अनुहार समेत नदेखाई लाइसेन्स पाउने भएपछि झनै सहज बनेको हो । बीमा अभिकर्ताको लाइसेन्स सहज बनेपछि ठूलो बीमा पोलिसी काट्ने बेला अभिकर्ताका बीचमा झगडा हुन थालेको छ । बीमा अभिकर्ताले कमिशनको लोभमा ठूलो बीमा पोलिसी आफ्नो डाउन लाइनमा राखेर सबै कमिशन आफै मात्र लिने संस्कार विकास हुँदै गएको र यसले दक्षतायुक्त बीमा अभिकर्ताको विकासमा बाधा पुग्ने स्वयम् बीमा अभिकर्ताहरु स्वीकार गर्दछन् ।

One thought on “तालिम नै नलिई बीमा अभिकर्ताको लाइसेन्स ! कोभिड बन्यो विकृतिको कारक

  1. DHIRAJ KUMAR AGRAWAL says:

    एकदम सहि

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*