दशैंमा बीमा अभिकर्ताहरुको व्यस्तता, टीका लगाउँदै बीमा प्रस्ताव राख्दै

२९ आश्विन २०७८, शुक्रबार ०९:०३

काठमाडौं । यतिबेला मध्य दशैं चलिरहेको छ । आज बिजयाको दिनमा बीमा अभिकर्ताहरुले आ–आफ्नो घरमा दशैं मनाउनमा व्यस्त छन् । त्यसो त बीमा अभिकर्ता पेशामा आबद्ध भएपछि दशैं मात्रै मनाएर कहाँ सुख पाइन्छ र ? आफन्तजन, आम सर्वसाधारणलाई बचत गर्ने बानी सिकाउने अभिकर्ताहरु दशैंमा जम्मा हुने रकमलाई बीमामार्फत बचतमा बदल्न सक्रिय भएर लागि परेका छन् ।

दशैंको समयमा आर्थिक कारोबार धेरै हुने हुँदा बीमा अभिकर्ताहरुको बीमा व्यवसायको हिसाबले समेत अहिले दशैं आइरहेको छ । दशैंको समयमा टीका लगाउँदै बीमाको लागि प्रस्ताव गर्दै दशैं मनाइरहेको बीमा अभिकर्ताहरुले प्रतिक्रिया दिएका छन् ।

पेशागत बीमा अभिकर्ता संघका सचिव ऋषिराम भुषालले दशैंको समयमा पनि बीमा अभिकर्ताहरु टीका लगाउँदै, बीमा प्रस्ताव राख्दै मनाइरहेको बताए । उनले भने, ‘दशैं त सबैलाई लागेकै छ, हामीलाई पनि लागेकै छ, तरसँगसँगै आम जनतालाई दशैंमा बीमा गर्ने, जोखिमको रक्षावरण गर्ने राम्रो कामको सुरुवात गर्न आह्वान गर्न समेत भुल्नु हुँदैन । यो हाम्रो दायित्व भित्रै पर्दछ ।’

‘दशैंमा सबै रकम खर्च नगरौं, केही बचत गरौं, टीकामार्फत दिइने र पाइने रकमको सही सदुपयोग गर्न सबैलाई आह्वान गर्दछु’, भुषालले आम सर्वसाधारणलाई आह्वान गर्दै भने । उनले दशैभरिका अभिकर्ताहरु दशैंमा चुप लागेर नबसेको र बचतको लागि सक्रिय भइरहेको जानकारी दिए । ‘बीमाले रक्षावरण पनि गर्ने हुँदा केही न केही रकम बचत गरौं, दशैंको समयमा हरेक कुराको साइत राम्रो हुने मानिन्छ । दशैंमा बीमा पोलिसी खरिद गरेर राम्रो परिणाम दिने, भविष्य सुनिश्चित पार्ने काम सुरु गर्न सबैलाई आह्वान गर्दछु’ भुषालले बीमापोष्टसँग प्रतिक्रिया दिँदै भने ।

दशैंमा जम्मा भएको रकमलाई बचतमा बदल्न बीमा अभिकर्ताहरुले सक्रिय भूमिका खेलिरहेको नेपाल लाइफका एजेन्सी म्यानेजर दीपक कुमार बराल बताउँछन् । बीमा अभिकर्ताहरु शहरबाट गाउँ गाउँमा पुगेर बीमा सचेतनाको लागि काम गरिरहेको बरालले जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*