१३ वटा वाणिज्य बैंकको लाभांश घोषणा, अधिकांशले दिंदैछन् बोनस शेयर (सूचिसहित)

९ कार्तिक २०७८, मंगलवार १२:२६

काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्षसम्मको मुनाफाबाट लाभांश घोषणा गरिरहेका छन् । चालु आर्थिक वर्षमा १३ वाणिज्य बैंकहरुले लाभांश घोषणा गरिसकेका छन् ।

जसअनुसार सिटिजन्स बैंकले १६ प्रतिशत, ग्लोबल आईएमई बैंकले १३ दशमलव ५ प्रतिशत, हिमालयन बैंकले २६ प्रतिशत, कुमारी बैंकले ८ लशमलव ६७ प्रतिशत, माछापुच्छ्रे बैंकले १४ प्रतिशत र नेपाल बंगलादेश बैंकले १५ दशमलव ५ प्रतिशत लाभांश दिने घोषणा गरिसकेका छन् ।

त्यस्तै, नेपाल बैंकले १७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत, सानिमा बैंकले १७ दशमलव ८९ प्रतिशत, सिद्धार्थ बैंकले १५ प्रतिशत , स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले १३ दशमलव ०६ प्रतिशत र बैंक अफ काठमाण्डूले १४ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

बुकक्लोज अघिको बजार मूल्यलाई आधार मान्दा लाभांश घोषणा गरेकामध्ये सबैभन्दा बढी फाइदा हिमालयन बैंकका सेयरधनीलाई भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरको प्रक्रियामा रहेका कारण सेयर कारोबार रोकिएकोले पनि हिमालयन बैंकका सेयरधनीले बढी प्रतिफल प्राप्त गरेको देखिएको हो । सेयर कारोबार नरोकिएको भए हिमालयन बैंकको सेयर मूल्य पनि बढेर सो बैंकका सेयरधनीले पाउने प्रतिफल कम हुने देखिन सक्थ्यो ।

यद्यपि, यो केबल अनुमान मात्रै हो ।बैंकहरुले लाभांश घोषणा गरिसकेपछि बुक क्लोज भएकाहरुको हकमा भने बुक क्लोज हुने दिनको बजार मूल्य र अन्य बैंकहरुको हकमा कात्तिक ७ गतेको सेयर कारोबार बन्द हुँदाको समयमा कायम भएको मूल्यका आधारमा लाभांश प्रतिफल हिसाव गरिएको हो । यस्तो हिसाव अनुसार हिमालयन बैंकका सेयरधनीले सबैभन्दा बढी अर्थात ५ दशमलव ३७ प्रतिशत प्रतिफल पाएका छन् ।

त्यस्तै,  सिटिजन्स बैंकका सेयरधनीले ४.०२ प्रतिशत, ग्लोबल आईएमई बैंकका सेयरधनीले ३.६१ प्रतिशत, कुमारी बैंकका सेयरधनीले ३.२८ प्रतिशत, माछापुच्छ्रे बैंकका सेयरधनीले ३.८४ प्रतिशत र नेपाल बंगलादेश बैंकका सेयरधनीले ३.९४ प्रतिशत प्रतिफल पाएका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका सेयरधनीले सबैभन्दा कम अर्थात २.४६ प्रतिशत प्रतिफल पाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*