कुमारी बैंकमा १९ करोड घोटाला प्रयास, नक्कली पूर्जा बनाएर प्रवाह भएको ऋण गोप्य रुपमा फिर्ता

२४ कार्तिक २०७८, बुधबार १३:०५

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तीय संस्थाको कारोबार गर्न अनुमति प्राप्त कुमारी बैंकमा सर्वसाधारणले जम्मा गरेको १९ करोड रुपैयाँ घोटालाको प्रयास भएको पाइएको छ । बारा जिल्लाको बिश्रामपुरमा रहेको गायक योगेश्वर अमात्यको नाममा रहेको १२ बिघा जमिनको नक्कली जग्गाधनी पूर्जा बनाएर कुमारी बैंकका उच्च पदस्थ कर्मचारीको मिलेमतोमा सो रकम घोटालाको प्रयास गरेका हुन् ।
स्रोतका अनुसार तत्कालिन सिईओ सुरेन्द्र भण्डारीले छोडेपछि कामु सिईओ अनुजमणि तिमिल्सिनाको पालामा सो घटना भएकोले उनको समेत संलग्नताको आशंका गरिएको छ । यद्यपि प्रहरीले कामु सिईओ तिमिल्सिनालाई पक्राउ गरेको छैन ।

अमात्यको नाममा रहेको सो जग्गा डेनियल ट्रेडिङको नाममा जग्गा खरिदको लागि भन्दै काठमाडौंको न्यूरोड शाखाबाट एस कुमार महर्जन र मुक्तिलाल गौतमको कम्पनीले ऋण माग गरेका थिए । न्यूरोड शाखाले ऋण प्रवाहका लागि मूल्याङ्कन तथा आवश्यक प्रक्रियाको लागि कुमारी बैंककै बीरगन्ज शाखामा पठाएको र बीरगन्ज शाखाबाट भ्यालुएटर राजेश चौरसियामार्फत जग्गाको मूल्याङ्कन गराएको थियो । बीरगन्ज शाखाले आवश्यक पक्रिया पुरा गरी जग्गा समेत रोक्का राखिएको भन्दै कीर्ते कागजात तयार गरी ऋण प्रवाह गर्न पत्राचार गरेको आधारमा न्यूरोड शाखाले आवश्यक प्रक्रिया अघि बढाएको थियो ।

१९ करोड रुपैयाँ ऋण न्यूरोड शाखाको अधिकार क्षेत्रभन्दा माथि भएकोले स्वीकृतिका लागि केन्द्रीय कार्यालयमा पठाएको थियो । केन्द्रीय कार्यालयमा कामु सिईओ तिमिल्सिनाले उक्त कीर्ते कागजातको आधारमा प्रवाह गरिएको ऋण स्वीकृत गरेको पाइएको छ । कुमारी बैंकका कामु सिईओ तिमिल्सिनाले बीमापोष्टलाई प्रक्रिया दिँदै भने, ‘हामीले उक्त ऋण असुल गरिसकेका छौं ।’ कामु सिईओ तिमिल्सिनाले उक्त ऋण सञ्चालक समितिमा पेश नगरिएको बताए । उनले भने, ‘म्यानेजमेन्ट अथोरिटीबाटै लोन प्रवाह भएको थियो ।’
गत साउनको अन्तिम साता ऋण प्रवाह भए लगत्तै कुमारी बैंकमा सो विषयले निकै ठूलो रुपमा लिएको स्रोतको दावी छ । सो घटनाको सम्बन्धमा गायक योगेश्वर अमात्य कहाँबाट बैंककै कुनै कर्मचारीले सूचना दिएपछि यथार्थ बुझ्न गायक अमात्य बैंकमा पुगेका थिए । उनले बैंकका कर्मचाीहरुलाई जेल हालिदिने भन्दै कारवाही गर्ने भन्दै थर्काएको बैंक स्रोतले जनाएको छ । सक्कली जग्गाधनी आई बैंकलाई थर्काएपछि बैंकका कर्मचारी र ठगी गर्ने कार्यमा संलग्नहरुले जेल जाने डरले बैंकको खातामा पैसा हालेर ऋण सेटलमेन्ट गरेको तथ्य खुलेको छ ।
बैंकमा नक्कली पूर्जा बनाए ऋण लिएकाहरुले सकुशल ऋण फिर्ता गरेपछि सो घोटाला काण्डमा संलग्नहरुले आनन्दको सास फेर्न थालेका थिए । तर, अमात्यले सिआईबीमा उजुरी दिएपछि कुमारी बैंक घोटाला काण्डमा सिआईबी छिरेको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीका डिआईजी धिरजप्रताप सिंहले बीमापोष्टलाई जानकारी दिए ।

बैंकमा सर्वसाधारणले जम्मा गरेको निक्षेप दुरुपयोग गरी नक्कली कागजातको आधारमा ऋण प्रवाह गर्ने बैंकको पर्सा शाखाका कर्मचारी सोनु ठाकुर, भ्यालुएटर चौरसिया, नक्कली ऋण लिनेहरु एस कुमार श्रेष्ठ र मुक्तिलाल गौतमलाई प्रहरीले पक्राउ गरेको छ । यद्यपि अझै सो घटनाका मुख्य योजनाकार जग्गा व्यवसायी कुशन प्रधान रहेको खुलेको छ । उनले बैंकका उच्च पदस्थ कर्मचारी, बीरगन्ज शाखा प्रमुख, न्यूरोड शाखा प्रमुखसहितका कर्मचारीहरु सेटिङ गरेका थिए भने दुई जना भरियाको नाममा कम्पनी खडा गरी ऋण चलाएका थिए ।

प्रहरीले घटनामा संलग्न केही व्यक्तिहरु पक्राउ गरेपनि कामु सिईओ तिमिल्सिनासहितका उच्च पदस्थ व्यक्ति र मुख्य योजनाका कुशन प्रधानलाई पक्राउ गर्न बाँकी छ । यस्तै प्रकृतिको काण्डमा यसअघि जागिर छोडिसकेका बैंक अफ काठमाडुका सिईओ अजय श्रेष्ठलाई पक्राउ गरी जेलमा हालेकोले कुमारी बैंकका कामु सिईओ तिमिल्सिनासहितका उच्च पदस्थ व्यक्तिहरु जोगिने सम्भावना भने न्यून रहेको बताइन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*