काठमाडौंको कपनमा भेटियो नक्कली नोट छाप्ने कारखाना, हजुरआमा नोट सप्लाई गर्ने नाती मेशिनबाट छाप्ने

२ मंसिर २०७८, बिहीबार ०८:१९

काठमाडौं । राजधानी काठमाडौंको कपनमा नक्कली नोट छाप्ने कारखाना फेला परेको छ । सिन्धुपाल्चोक स्थायी घर भई हाल बौद्ध, तथा कपन क्षेत्रमा बसोबास गर्दै आएका एक समुहले उक्त नक्कली नोटको कारखानाबाट धमाधम नोट छापेर बजारमा पठाउने फेला परेका महानगरीय प्रहरी काठमाडौंले जनाएको छ ।

प्रहरीले गोप्य सूचनाको आधारमा छापा मारेर सो कार्यमा संलग्न पाँच जना व्यक्ति, नक्कली नोट बनाउन प्रयोग हुने विशेष प्रकारको मेशिन (प्रिन्टर), नोट बनाउन प्रयोग हुने कागज तथा बजारमा पठाउन तयारी अवस्थामा राखिएको नक्कली नोटहरु बरामद गरेको छ ।

प्रहरीले उनीहरुको साथबाट ६५ हजार भन्दा बढि नक्कली नोट समेत फेला पारेको जनाएको छ । उनीहरुले १०००, ५०० र १०० रुपैयाँको नोट नक्कली बनाएका थिए । नक्कली नोट बनाउने उक्त गिरोहले १००० रुपैयाँ दरको नोट बनाउँदा प्रहरीको फन्दामा पर्न सक्ने भएकोले १०० दरका नक्कली नोट बनाएर बजारमा पठाएको तथ्य खुलेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता रमेशकुमार थापाका अनुसार काठमाडौं प्रहरीले गत मंगलबार राति उक्त अप्रेशन चलाएको थिए । मंगलबार बौद्ध प्रहरीले घट्नाबारे थाहा पाए लगत्तै सिंगै काठमाडौं प्रहरीको टोली सक्रिय भएर अप्रेशन चलाएको थियो ।

घटना विवरण अनुसार मंगलबार अपरान्ह कामठाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.७ दक्षिण ढोकामा सिन्धुपाल्चोककी गोमा श्रेष्ठले बजारमा किनमेल गर्ने क्रममा उनले दिएको १०० दर अंकित नोट नक्कली जस्तो देखिएर शंका लागेपछि पसलेले प्रहरीलाई खबर गरेका थिए ।

लगत्तै महानगरीय प्रहरी वृत्त बौद्धबाट प्रहरी टोली गएर गोमा श्रेष्ठलाई नियन्त्रणमा अनुसन्धान गर्दा उनको साथबाट थप नक्कली नोट जस्तै देखिन १०० दरका नोटहरु फेला परेका थिए । उनले उक्त नोट दिने व्यक्ति आफ्नै छोरी पुष्पा थापा मगरले दिएको बताईन् । प्रहरी तत्कालै पुष्पाको खोजीमा दौडियो । प्रहरी टोली गोकर्णेश्वर नगरपालिका वडा नं.६ नारायणटारमा रहेको पुष्पाको कोठामा पुगी छापा मार्दा ५०० सय र १००० दरका नक्कली नेपाली रुपैंया फेला परे प्रहरी अब थप चनाखो बन्दै अघि बढ्यो । प्रहरीले उनको कोठामा नोट बनाउनको लागी प्रिन्ट गरी पैसाको आकारमा काटेर राखेको कागजहरू समेत फेला पार्न सफल हुन्छ । पुष्पालाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा नक्कली नोटको कारखाना कपनमा भएको खुल्यो । अनुसन्धान गर्दै जाँदा उनीहरूले नक्कली नोटहरू कपनमा रहेको पुष्पा थापा मगरको छोरा समरोज थापा मगर बस्ने कोठामा बन्ने गरेको पत्ता लगायो । र, तत्कालै उक्त समरोजको खोजीमा दौडियो ।

लगत्तै काठमाडौं जिल्ला बुढानिलकण्ठ नपा ११, कपनमा समरोज थापाको कोठामा पुग्यो । त्यहाँ उनले नक्कली नोटहरु छाप्ने गरेको तथ्य फेला पार्यो । उनले विशेष प्रकारको प्रिन्टरबाट सक्कली जस्तै देखि हुबहु तरिकाको नक्कली नोट छाप्ने गरेको तथ्य फेला पारेको छ । थापामगरले प्रिन्टरबाट प्रिन्ट गरेर लालीगुराँस अंकित पानी छाप समेत लगाउने गरेको तथ्य फेला परेको छ ।
प्रहरीले नोट बजारमा सप्लाई गर्ने हजुरआमा गोमा श्रेष्ठ, व्यवस्थापन गर्ने पुष्पा थापामगर र नोट छाप्ने कारखाना चलाउने समरोज थापा मगरलाई पक्राउ गरी गरी हिजो सार्वजनिक गरेको छ । साथै सो घटनामा संलग्न चिरञ्जीवी ज्योति र सुजन ज्योतिलाई समेत बुधबार नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो । पाँचै जना मिलेर उक्त कार्य गरेको प्रहरीले जनाएको छ । कारखानाको अवस्था हेर्दा केही लाख रुपैयाँ बजारमा पठाएको हुनसक्ने देखिएको छ । उनीहरुले चार वटा बट्टा मसी नोट बनाएर सिध्याई सकेको तथ्य समेत फेला परेबाट बजारमा नक्कली नोट गएको तथ्य उजागर भएको हो । साथै उनीहरुले दुई महिनादेखि नक्कली नोट बनाएर बजारमा पठाएको बताएबाट ठूलै रकम बजारमा प्रवाह भएको हुनसक्छ । हालसम्म १०० रुपैयाँ दरका १५ सय थान नक्कली नोट बौद्ध–जोरपाटी क्षेत्रमा पठाएको आरोपितहरुले बताएको प्रहरीले जनाएको छ । थप विवरण खुलाउन चाहेका छैनन् ।

प्रहरीले उनीहरुको साथबाट प्रहरीले सक्कली जस्तो देखिने रकम ६५ हजार ३३५ रुपैयाँ, नक्कलीजस्तो देखिने तयारी अवस्थाको १०० रुपैयाँ दरको नोट १६६ थान, नक्कलीजस्तो देखिने तयारी अवस्थाको १००० रुपैयाँ दरको नोट ३६ थान, नोट बनाउन प्रिन्ट गरी काटेर राखेको अगाडिको भाग मात्रको १००० रुपैयाँ दरको ११६ थान र पछाडिको भागको ९२ थान कागज बरामद गरेको छ ।

त्यसैगरी, नोट बनाउन प्रिन्ट गरी काटेर राखेको अगाडिको भाग मात्रको ५०० रुपैयाँ दरको ५६ थान र पछाडिको भागको ५६ थान, कागज टाँस्ने फेबिकोलको बट्टा २ थान, पैसा छाप्न प्रयोग हुने रंगीन प्रिन्टर १ थान र उक्त प्रिन्टरभित्र फोटोकपी गर्न तयारी अवस्थामा टेपले टाँसेर राखिएको १०० रुपैयाँ दरको सक्कलीजस्तो देखिने नोट ३ थान, सोही प्रिन्टरमा प्रयोग हुने एचपीजीटी ५२ लेखिएको रङ प्रयोग नभएको मसीको बट्टा ३ थान र प्रयोग भएको मसीको खाली बट्टा ४ थान, लाँलीगुरास छाप भएको स्ट्याम (छाप) १ थान, काटिएको विभिन्न कागजका मसिना टुक्राहरु र पेपर काट्ने कैंची १ थान बरामद भएको प्रहरीले जनाएको छ ।
सो गिरोहबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*