फ्युचर बोनस खारेज गराउन बीमा समितिमाथि दवाव, सञ्चालकहरु लविङमा

४ मंसिर २०७८, शनिबार २१:२५

काठमाडौं । गत बिहिवार बीमा समितिमा एक हुल बीमा अभिकर्ताहरु पुगे । उनीहरुले बीमा समितिका अध्यक्ष सूर्य सिलवाललाई ज्ञापन पत्र बुझाए । आन्दोलनकारीहरुले बीमा कम्पनीहरुको बोनस दर घटाउन नपाइने भन्दै नाराबाजी समेत गरे ।

बीमा अभिकर्ताहरुले गरेको सो आन्दोलन बाहिर देखिएको एउटा घट्नाक्रमको नयाँ श्रृंखला थियो । सोही दवावका बीचमा बीमा अभिकर्ताहरुले समेत फ्युचर बोनसका लागि प्रोभिजन गर्नुपर्ने व्यवस्थाको कारणबाट सिर्जित बोनस सम्बन्धी एजेण्डा लिएर बीमा समितिमा पुगेपछि दवावकै नयाँ श्रृंखलाका रुपमाा हेरिएको छ । बीमा कम्पनीका सञ्चालकहरुले बीमा समितिमाथि कम्पनीहरुको बोनस दर र मुनाफा घटाउन भूमिका खेलेको फ्युचर बोनस खारेज गर्न चर्को दवाव दिइरहेका छन् ।  केही माफियाहरुले त अझ अर्थमन्त्रालयसम्मै पुगेर बीमा समितिल लागू गरेको फ्युचर बोनस हटाउन लविङ गरिरहेका छन् ।

जीवन बीमाको दीगो विकासको लागि फ्युचर बोनसको आवश्यकता अनिवार्य छ । भारतमा शतप्रतिशत फ्युचर बोनसको व्यवस्था छ । नेपालमा पहिलो पटक बीमा समितिले २० प्रतिशत फ्युचर बोनसका लागि प्रोभिजन गर्नुपर्ने व्यवस्था लागू गरेको छ । बीमितसँग लिएको बीमा शुल्कको दायित्व वर्षौसम्मका लागि रहने हुन्छ । फ्युचर बोनस तत्कालका लागि जीवन बीमा कम्पनीहरुका लागि निकै अप्ठेरो विषय भएपनि ढिलो वा चाँडो उक्त व्यवस्था लागू नगरी सुखै छैन ।

तर, बीमा कम्पनीका सञ्चालकहरुले आफ्नो लाभांश नआउने भएकोले फ्युचर बोनस खारेज गराउन बीमा समितिमाथि चर्को दवाव सिर्जना गर्दै आएका थिए । बीमा समितिले सुरुमा ६०, ७० वा ८० कति प्रतिशत प्रोभिजन गर्न सकिन्छ भनेर जीवन बीमा कम्पनीहरुसँग सल्लाह मागेको थियो । तर, ठूला जीवन बीमा कम्पनीहरुले सक्दै नसक्ने भन्दै बीमा समिति समक्ष रोई कराई गरेपछि समितिले २० प्रतिशत प्रत्येक वर्ष फ्युचर बोनसका लागि प्रोभिजन गर्नुपर्ने निर्णय लियो । उक्त निर्णय खारेज गराउन अहिले बीमा कम्पनीका सञ्चालकहरुले अर्थमन्त्रालयमा राजनीतिक लविङ गरिरहेका छन् ।

बीमा समिति स्रोतका अनुसार फ्युचर बोनसका लागि प्रोभिजन गर्ने व्यवस्था लागू भइसकेकोले खारेज हुुन सम्भव नहुने प्रष्ट पारेको छ । जीवन बीमा क्षेत्रलाई नयाँ उचाईमा पुर्याउने उद्देश्यले अघि बढाउन लागिएको फ्युचर बोनसका विरुद्धमा आएका दवावले कुनै फरक नपार्ने स्पष्ट पारेको छ ।

बीमित र बीमा कम्पनीको सुरक्षित भविष्यको लागि लागू गरिएको फ्युचर बोनसका विरुद्धमा बीमा अभिकर्ताहरु के कारणले आन्दोलित भए प्रष्ट पारिएको छैन । बीमा समिति स्रोतका अनुसार गत बुधवार बीमा समितिमा पुगेका आन्दोलनकारी अभिकर्ताहरुको माग पुरा गर्न फ्युचर बोनस खारेज गर्नुपर्ने माग गरेका छैनन् । बीमा अभिकर्ताहरुले यसअघि बीमितलाई दिँदै आएको बोनस दर कुनै पनि हालतमा घटाउन नहुने, अभिकर्ताले बीमा कम्पनीबाट पाउने ऋण सुविधा बन्द गर्न नहुने माग गरेका छन् । उनीहरुले बोनस घटाउन नहुने भन्ने एजेण्डाको अन्तर्य फ्युचर बोनस खारेज गर्ने नै रहेको बुझिएको छ ।

फ्युचर बोनसका विरुद्धमा खुलेआम आन्दोलन हुन थालेपछि जीवन बीमा क्षेत्रका इमान्दारहरु भने चिन्तित बनेका छन् । फ्युचर बोनसका लागि प्रोभिजनले कम्पनी थप बलियो हुने र बीमितहरुले भविष्यमा थप लाभ प्राप्त गर्ने हुँदा निकै महत्वपूर्ण र अति जरुरी मानिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*