बसन्तपुरमा पृथ्वीनारायण शाहको शयन कक्ष पुननिर्माण

११ मंसिर २०७८, शनिबार १३:४३

काठमाडौँ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको शयन कक्षलाई सरकारले उच्च प्राथमिकता दिएर पुननिर्माण गराएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको पृथ्वीनारायण शाह शयन कक्ष पुनःनिर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ ।

पृथ्वीनारायण शाहले कान्तिपुर विजय गरेपछि हनुमानढोका दरबार क्षेत्रमा शयन कक्ष निर्माण भएको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त कक्ष पुनःनिर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । कक्षको बाहिरी भागको पुनःनिर्माणका सबै काम सकेरभित्र साजसजावटका काममात्र बाँकी छ ।

हनुमान ढोका दरबार हेरचाह अड्डाले नै ठेक्का गरी दुई करोड ५८ लाख ४५ हजार ६२३ को लागतमा कक्ष पुनःनिर्माण भइरहेको इञ्जिनीयर रोशन डङ्गोलले जानकारी दिए । विसं २०७७ जेठ ९ गते पुनःनिर्माण सुरु भएकामा २०७९ साल जेठ ८ गतेसम्म पुनःनिर्माणको अवधि बाँकी रहेको उनले सुनाए । अवधिअगावै काम सम्पन्न हुने जनाइएको छ । पचली भैरव एण्ड मनकामना निर्माण सेवाले यो सम्पदा पुनःनिर्माण काम गरिरहेको छ । रासस

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*