नयाँ मोदी–लाहाचोक प्रसारण लाइन आजदेखि सञ्चालनमा

१४ पुष २०७८, बुधबार १७:२१

काठमाण्डौ । नयाँ मोदी (पर्वत)–लाहाचोक (कास्की) प्रसारण लाइन संचालनमा आएको छ । १३२ केभी डबल सर्किट भएको प्रसारण लाइन आजदेखि सञ्चालनमा आएको हो ।

नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना अन्र्तगत नयाँ मोदी–लाहाचोक खण्डको निर्माण सम्पन्न गरी बुधबारवाट सञ्चालनमा आएको हो । लाहाचोकमा १३२÷३३ केभी सबस्टेसनमा ३० एमभीएको पावर ट्रान्सफर्मर जडान कार्य सम्पन्न गरी लाइन चार्ज गरिएको छ । निर्माण सम्पन्न सबस्टेसनवाट कास्कीको माच्छापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकामा विद्युत आपूर्ति दिइनेछ ।

यसवाट त्यस क्षेत्रको विद्युत आपूर्ति गुणस्तरिय र भरपर्दो हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले भने “पोखरावाट त्यस क्षेत्रमा विद्युत आपूर्तिको लगिएको लाइन लामो हुँदा ट्रिपिङ, लो भोल्टेज लगायतका समस्या थियो । अब लाहाचोक सबस्टेशनवाट आपूर्ति दिँदा त्यस क्षेत्रको विद्युत सेवा सुधार भई उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत पाउनेछन् भने विद्युत चुहावट समेत घट्नेछ ।”

आयोजना अन्र्तगत यस खण्डमा ६८ वटा टावर निर्माण गरिएको छ भने २१ किलोमिटर तार तानिएको छ । एक्जिम बैंक अफ इण्डियाको सहुलियत पूर्ण ऋणमा निर्माण गरिएको आयोजना अन्र्तगत लाहाचोक लेखनाथ प्रसारण लाइन निर्माणधीन रहेको छ । सन् २०१८ जुलाई २१ वाट सुरु भएको उक्त आयोजनाको नयाँ मोदी–लाहाचोक खण्डको निर्माण स्थानीयको अवरोध साथै बन क्षेत्रको समस्याका कारणले प्रभावित भइरहेको आयोजना प्रमुख रोशन अग्रवालले बताएका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*