नेपाल लाइफका व्यवस्थापक र अभिकर्ताबीचको वार्ता भोलि पनि जारी, तालाबन्दी स्थगित गर्ने निर्णय

२ माघ २०७८, आईतवार २१:१४

काठमाडौं । नेपाल लाइफमा आबद्ध बीमा अभिकर्ताको केन्द्रीय संघर्ष समिति र कम्पनीको व्यवस्थापनबीच आज करिब तीन घण्टा वार्ता चलेको छ । आजको वार्तामा विषयवस्तुहरुमाथि घनिभूत छलफल गरिएको र निष्कर्ष निस्कन बाँकी रहेको आन्दोलनरत बीमा अभिकर्ता संघर्ष समितिका संयोजक गणेश अधिकारीले बताए ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको व्यवस्थापन खर्चको नाममा जथाभावी खर्च घटाउनुपर्ने, बीमितले पाउने बोनसदर घटाउन नहुने लगायतका मागहरु राखेर आन्दोलनरत पेशागत बीमा अभिकर्ताहरुको केन्द्रीय संघर्ष समिति गत साउनदेखि नै आन्दोलनमा छ । गत पुस १७ गतेदेखि नेपाल लाइफका देशैभरिका शाखामार्फत बीमा पोलिसी काट्ने कार्य बन्द गरेर आन्दोलनमा होमिएको संघर्ष समितिसँग आज नेपाल लाइफका उच्च व्यवस्थापनले वार्ता गरेको हो ।

आजको वार्तामा केन्द्रीय संघर्ष समितिका संयोजक गणेश अधिकारी, महासचिव ओम केसी, प्रमुख सल्लाहकार नारायण दाहाल, व्यवस्थापनको तर्फबाट सिनियर डेपुटी सिईओ प्रविणरमण पराजुली, डेपुटी सिईओ सुशिल चौधरी तथा नेशनल सेल्स म्यानेजर दिग्बिजय सिंघल र पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफका अध्यक्ष राजेन्द्र आमात्य र उपाध्यक्ष कृष्ण आचार्यलगायतको सहभागिता रहेको थियो ।

सौहार्दपूर्ण रुपमा अघि बढेको वार्तामा दुवै पक्षले आ–आफ्नो एजेण्डा पेश गरेका छन् । अब उक्त एजेण्डामाथि दुवै पक्षले आफ्नो टिमभित्र छलफल गरेर भोलि पुनः सार्थक निकास निस्कने गरी वार्तामा बस्ने सहमति भएको वार्तामा सहभागी एक सदस्यले बीमापोष्टलाई बताए ।

आजको वार्तामा नेपाल लाइफ व्यवस्थापन केही लचिलो हुँदै प्रस्तुत भएकोले सहमतिको सम्भावना रहेको संघर्ष समिति सम्बद्ध एक नेताले बताए । त्यस्तै संघर्ष समिति समेत केही जिम्मेवारीसाथ प्रस्तुत भई वार्ताबाटै समस्या हल गर्न प्रयत्न गरिने धारणा राखेको छ ।

आजको वार्तामा दुवै पक्षले राखेको एजेण्डामाथि छलफल गर्न तीन घण्टाको समय व्यवस्थापन पक्षले माग गर्दै साँझ पुनः दोस्रो चरणको वार्ता गर्ने सहमति भएको थियो । तर, छलफल गर्ने समय नपुगेकोले भोलिका लागि दोस्रो वार्ताको समय तय गरिएको बीमा अभिकर्ता केन्द्रीय संघर्ष समिति, नेपाल लाइफका संयोजक गणेश अधिकारीले बताए ।

यसैबीच, अभिकर्ता केन्द्रीय संघर्ष समिति नेपाल लाइफले जारी आन्दोलनको स्वरुप केही संशोधन भएको जनाएको छ । संघर्ष समितिका संयोजक गणेश अधिकारीले भोलिदेखि गर्ने भनिएको नेपाल लाइफका देशव्यापी शाखा कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम वार्ता जारी रहुन्जेलसम्मका लागि स्थगित गरिएकोले सोही बमोजिम आफ्नो देशैभरिका अभिकर्ताहरुलाई निर्देशन दिएका छन् । उनले बीमा पोलिसी काट्न नदिने पुस १७ गतेको निर्णय कायमै रहेको जनाउँदै वार्ता जारी हुँदासम्म शाखा कार्यालयमा तालाबन्दी गर्ने कार्य स्थगित गर्ने निर्णय गरिएका जानकारी दिए । उनका अनुसार वार्ताबाटै समस्याको समाधान हुनसक्ने सम्भावना र वार्ताको माध्यमबाट सहमति कायम हुने सम्भावना रहेकोले वार्ता सहजतापूर्वक अघि बढाउन, वातावरणलाई उत्तेजित हुन नदिन तालाबन्दी गर्ने निर्णय हाललाई स्थगित गरिएको बताए । साथै उनले वार्ता असफल हुने वित्तिकै तालाबन्दी गर्ने निर्णय गरिएको समेत बीमापोष्टलाई जानकारी दिए ।

अभिकर्ता केन्द्रीय संघर्ष समिति नेपाल लाइफका पदाधिकारी र व्यवस्थापनबीच वार्ता चलिरहेका बेला संघर्ष समितिका सचिव कपिल आचार्यको नेतृत्वमा सयौंको संख्यामा आन्दोलनकारीहरु नेपाल लाइफको केन्द्रीय कार्यालय कमलादीमा धर्नामा बसेका थिए ।

One thought on “नेपाल लाइफका व्यवस्थापक र अभिकर्ताबीचको वार्ता भोलि पनि जारी, तालाबन्दी स्थगित गर्ने निर्णय

  1. Harichandra karki says:

    Nice

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*