इटहरी र सुर्खेतमा एयरबेस बनाउने निर्णय अघि बढाउँदै अर्थमन्त्रालय

१० फाल्गुन २०७८, मंगलवार ०६:५२

काठमाडौं । तत्कालिन केपी ओली नेतृत्वको पालामा २०७३ साल जेठ १५ गते संसदमा प्रस्तुत गरिएको आव २०७३।०७४ को बजेटमा उल्लेख भएको एउटा राष्ट्रिय सुरक्षा र सैन्य रणनीति सम्बन्धी योजना अर्थमन्त्रालयले अघि बढाएको छ ।

तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले २०७३ साल जेठ १५ गते संसदमा वर्तमान माओवादी समेतको सरकारको तर्फबाट प्रस्तुत बजेटको राष्ट्रिय सुरक्षा अन्तर्गतको बुँदा नं ३२५ मा नेपाली सेनाको लागि पूर्वको इटहरी र पश्चिमको सुर्खेतमा एयरबेस बनाउने उल्लेख थियो ।

माओवादी केन्द्रको समर्थनमा रहेको ओली सरकारले संसदमा प्रस्तुत गरेको बजेटको ३२५ नं बुँदामा भनिएको छ, ‘नेपाली सेनालाई राष्ट्रिय सुरक्षा, दैवी प्रकोप उद्धार तथा विकास निर्माणमा परिचालनको लागि स्रोत साधनले सम्पन्न बनाइनेछ । नेपाली सेनाको लागि इटहरी र सुर्खेतमा एयरबेस निर्माण गरिनेछ ।’

सोही वर्षको संसदबाट पारित भई विधेयक सरह लागू गरिएको उक्त कुरा तत्कालिन केपी ओली नेतृत्वको सरकार माओवादीले नै ढालेकाले रोकिएको थियो । अहिले माओवादीका युवा नेता जनार्दन शर्माले अर्थमन्त्रालयको नेतृत्व गरिरहेका छन् । उनले राष्ट्रिय महत्वको सो प्रस्ताव अघि बढाउन चासो देखाएको अर्थमन्त्रालय स्रोतले जनाएको छ । एयरबेस निर्माण गर्ने कार्य रक्षा मन्त्रालयको भएपनि बजेट कार्यान्वयन गर्ने जिम्मेवारी अर्थमन्त्रालयको हो । नयाँ बजेट निर्माण गर्दा विगतमा बजेट कार्यान्वयनको अवस्थाको समेत मूल्याङ्कन गर्ने गरिन्छ ।

नेपाली सेनाले समेत बजेट बक्तव्यमा समावेश भई तत्कालिन सरकारले अघि बढाउन चाहेको इटहरी र सुर्खेतमा एयरबेस निर्माण कार्यमा कम चासो दिँदै आएको अवस्थामा अर्थमन्त्रालयले झण्डै छ वर्ष पुरानो बजेटमा उल्लेख भएको राष्ट्रिय सुरक्षाको विषयलाई अघि बढाउन चासो देखाएको बताइएको छ ।

हालसम्म नेपाली सेनाको आफ्नो छुट्टै एयरबेस छैन । नेपाली सेनाले त्रिभुवन विमानस्थलको केही भाग आफ्नो लागि प्रयोग गर्दै आएको छ । इटहरीमा अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको डिफेन्ससिष्टम सहितको एयरबेस बनाउने तत्कालिन सरकारले परिकल्पना गरेर बजेटमा समावेश गरेको भएपनि नेपाली सेनाले कस्तो एयरबेस बनाउने भन्ने निर्णय गरी रक्षा मन्त्रालयमा कार्ययोजना समेत नबुझाएको पाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*