विकास, समृद्धिको योजना बोकेर मकवानपुर कांग्रेसमा लामिछानेको उम्मेदवारी

१५ फाल्गुन २०७८, आईतवार २०:०६

हेटौडा । लामो समय विकास निर्माण, प्रविधिको विकास र मकवानपुरका जितको घर घरमा विकास निर्माण पुर्याउन सक्रिय रहेर काम गर्दै आएका उत्तरी क्षेत्र चित्लाङका जयराम लामिछानेले नेपाली कांग्रेस मकवानपुरको भोलि हुने निर्वाचनमा सभापति पदमा उम्मेदवारी दिएका छन् ।

चर्को प्रतिस्पर्धाका बीचमा सोमबार हेटौडामा हुन लागेको नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको जिल्ला अधिवेशनमा लामिछाने संस्थापन इतर पक्षबाट उम्मेदवार बनेका हुन् । आजै उनले नेपाली कांग्रेसको मकवानपुर सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।

मकवानपुर कांग्रेसको सभापतिमा त्रिपक्षिय भिडन्त हुने निश्चित भएको छ । आजै संस्थापन पक्षबाट हेटौडा उपमहानगरपालिकाका निवर्तमान सभापति समेत रहेका आनन्दराम पराजुली र हालका जिल्ला सचिव बुद्ध लामाले उम्मेदवारी दर्ता गराएका छन् ।

संस्थापन इतर पक्षको उम्मेदवारको रुपमा आफुलाई चिनाएका जयरामको पक्षमा माहौल बलियो देखिएको जिल्लाका कांग्रेसका नेताहरुका बीचमा चर्चा चलेको छ । बैचारिक हिसाबले पनि अरु उम्मेदवार भन्दा अब्बल मानिएका जयराम जिल्लामा कांग्रेसलाई बामपन्थीहरुलाई बैचारिक रुपमा परास्त गर्दै पुनर्सरचना गर्ने, विकास र प्रविधि जनताको घर घरमा पुर्याउने योजनासहित चुनावी अभियानमा होमिएका छन् ।

नेपाली कांग्रेसका संस्थापक बिपि कोइरालाले अघि सारेको प्रजातन्त्र, समाजवाद र उदारवादलाई आत्मसात गर्दै आएका लामिछाने एक सफल व्यवसायी समेत हुन् । बिपीले अघि सारेको कांग्रेसको विचारलाई जिल्लामा स्थापित गर्ने योजनासहित निर्वाचनमा उत्रिएका लामिछाने संसदीय क्षेत्रमा पनि उत्तीकै दख्खल राख्छन् । मकवानपुरको उत्तरी क्षेत्र बज्रबाराहीमा जन्मिएका जयराम कांग्रेसको विधि, विधान र नीतिलाई अनुशरण गर्दै निर्वाचनमा होमिएका हुन् ।

विकास र प्रविधिका ज्ञाता, एक सफल निर्माण व्यवसायी लामिछाने नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय अध्यक्ष भइसकेका छन् । स्वच्छन्द भैरव निर्माण सेवाका संचालक समेत रहेका जयरामले अन्तरराष्ट्रिय क्षेत्रमा समेत विकास पूर्वाधारहरु निर्माण गरेर अनुभव बटुलिसकेका छन् । अन्तरराष्ट्रिय क्षेत्रमा समेत आफ्नो कर्म क्षेत्र बनाएका जयराम कम्युनिष्टको लाल किल्ला तोड्ने भन्दै २०७० सालमा भएको संविधानसभा सदस्य पदमा मकवानपुरको निर्वाचन क्षेत्र नम्वर २ को उम्मेदवार थिए । उनी सोही निर्वाचनमा नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठसँग चुनाव लडेका थिए ।

निर्वाचनमा प्राविधिक रुपमा पराजित भएपनि जनताको मन जित्न भने सफल मानिएका थिए जयराम । त्यसलगत्तै कांग्रेसको संगठन विस्तारमा खटिएका लामिछाने आफ्नो निर्वाचन क्षेत्रमा कांग्रेको उपस्थिति बलियो बनाउने काम गरे । जसको फलस्वरुप २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट हाल बागमती प्रदेशका सभापतिसमेत रहेका इन्द्रबहादुर बानियाँले निर्वाचन जिते । समय अनुकुल विकासको नीति अवलम्वन गर्नुपर्ने धारणा बोकेका लामिछाने योजना निर्माणमा पनि सक्रिय छन् । उनी कांग्रेसको विज्ञता प्राप्त नेताको रुपमा परिचित छन् । कांग्रेस मकवानपुरको सल्लाहकारसमेत रहेका लामिछाने नेपाली कांग्रेस पार्टीलाई समयसापेक्ष प्रविधिमैत्री बनाउने आफ्नो योजना रहेको बताउँछन् ।

लालकिल्लालाई तोडेर सिंगो जिल्लालाई कांग्रेसमय जिल्ला बनाउने घोषणासहित सभापति पदमा उम्मेदवारी दर्ता गराएका लामिछानेले देश निर्माणमा पुर्याएको योगदान, उत्तरी मकवानपुरका विकट वस्तीमा आफ्नै खर्चमा विकास निर्माणहरु पुर्याएर जनताको मन मनमा बस्न सफल लामिछानेले बिजय भएमा सिंगो जिल्लामा कांग्रेसको अवस्था सुदृढ हुने भन्दै कांग्रेसीजनहरु खुशी देखिएका छन् ।

उनले विकास निर्माण तथा प्रशासनिक कार्यमा समेत मकवानपुरको जनतालाई पहिलो प्राथमिकतामा राख्दै आएका छन् । त्यसैले सोमबार हुने कांग्रेसको निर्वाचनमा आम कार्यकर्ताले लामिछानेलाई छान्ने विश्वास लिइएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*