एउटा वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा अनिवार्य रुपमा प्रयोजन खुलाउनुपर्ने
काठमाडौं । अबदेखि एउटा वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा अनिवार्य रुपमा प्रयोजन खुलाउनुपर्नेछ ।राष्ट्र बैंकले आज भुक्तानी प्रणाली सम्बन्धि एक निर्देशन जारी गर्दै भुक्तानी सम्बन्धि कार्य गर्ने अनुमतीपत्र प्राप्त सबै संस्थाहरुलाई यो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
‘विद्युतीय वालेटमा ग्राहकले रकम लोड गर्दा, एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय कारोबार गर्दा अनिवार्य रुपमा प्रयोजन खुलाउनुपर्ने व्यवस्था गर्नुपर्नेछ’ निर्देशनमा जानकारी दिएको छ।
साथै, अद्यावधिक गर्दा ‘पेश गरेको विवरण ठीक साँचो रहेको तथा सो विवरण झुटो ठहरिएमा कानुन बमोजिम सहुँला बुझाउला’ भन्ने व्यहोराको विद्युतीय रुपमा स्वःघोषणा गर्न लगाउन निर्देशन दिएको छ ।
क्रेडिट कार्डबाट अधिकतम १० प्रतिशत सम्म रकम झिक्ने व्यवस्था लागु गर्न निर्देशन दिएको छ ।
निर्देशनमा भनिएको छ, ‘सामान्यतयाः क्रेडिट कार्डबाट नगद कारोबार गर्न पाइनेछैन । तर अत्यावश्यक भएको अवस्थामा कार्डको स्वीकृत सीमाको १० प्रतिशत सम्म नगद झिक्न बाधा पुगेको मानिने छैन ।