गाजामा देखिएको दृश्यले विश्वलाई लज्जित बनाइरहेको छः फ्रान्सेली राष्ट्रपति म्याक्रों

काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा कूटनीतिको कडा आलोचना गर्दै गाजामा चरम मानवीय संकट रहेको बताएका छन् ।
उनले संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई सम्बोधन गर्दै भने, “विश्वले यस्तो दृश्य देखिरहेको छ जुन देखेर सबैले लज्जित हुनुपर्छ ।” उनले ट्रम्पले त्यही मञ्चबाट आफ्नो गाजा शान्ति योजनालाई कूटनीतिक सफलतका रूपमा प्रस्तुत गरेको केही घण्टापछि सम्बोधन गर्दै कडा आलोचना गरेका हुन् ।
“एक वर्षअघि यही सभाकक्षमा करिब एक दर्जन राष्ट्रले प्यालेस्टाइनलाई मान्यता दिएका थिए । मान्यता भनेको केवल कागजको टुक्रा होइन वास्तविकता हेर्नुहोस् ” उनले भने । “तर गाजाको अवस्थाप्रति हामी निष्क्रिय भइरह्यौं भने हाम्रो विश्वसनीयता के रहन्छ? केही मानिसहरूले कथित शान्तिको बढाइचढाइ गरिरहेका छन् । तर त्यो शान्तिले एक सेकेन्डका लागि पनि मानवीय सहायता पहुँच पुनः खोल्न सकेको छैन । के हामी केवल उभिएर यस्तो दृश्य हेरिरहने हो, जुन देखेर हामी सबै लज्जित हुनुपर्ने हो?”
उनले आफूहरू निराशावादका अगाडि नझुक्ने भन्दै अहिले औद्योगिक स्तरमा युद्ध अपराध र बर्बरताको नयाँ युग देखिएको बताए । जेनेभा महासन्धिहरू तोडिएको प्रसंग उल्लेख गर्दै उनले न्यायबिना शान्ति स्थापना हुन नसक्ने भएकाले अन्तर्राष्ट्रिय न्याय अदालतलाई निरन्तर समर्थन गर्ने पनि बताए । “केही देशहरूले स्थापना गर्न खोजिरहेको दण्डहीनताको यो नयाँ व्यवस्थालाई हामी स्वीकार गर्न सक्दैनौं ।” उनले भने ।










